२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

शिक्षकहरुको असन्तुष्टि र कांग्रेसका कारण विधेयक रोकिएको : सभापति अम्मरबहादुर थापा

बुधवार , श्रावण १, २०८२

काठमाडौं, ३२ असार । प्रतिनिधिसभा अन्तर्गतको  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्ने बताउनुभएको छ ।

नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले २०२८ सालको विद्यालय ऐनलाई विस्थापीत गर्दै सचेत नागरिक निर्माण गर्न विधेयकले धेरै काम गरिरहेको भन्दै अव पनि विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्ने बताउनुभएको हो ।

विधेयकमा शिक्षकहरुले भनेका धेरै बिषयलाई सम्बोधन गरिएको उल्लेख गर्दै सभापति थापाले शिक्षा विधेयक भन्दा पनि शिक्षक विधेयक जस्तो भएको धारणा राख्नुभयो । उहाले शिक्षकहरुले राखेका मागमध्ये स्वतः स्थायी वा बढुवा गर्नुपर्ने बिषय समावेश गर्न नसकिने स्पष्ट पार्नुभयो ।

आफ्ना माग पुरा नभए पुन आन्दोलन गर्ने शिक्षकहरुको चेतावनीप्रति उहाले आन्दोलनले शिक्षा क्षेत्र बन्न नसक्ने जिकिर गर्नुभयो । सभापति थापाले समितिमा शिक्षा विधेयक लक भइसकेको भन्दै अग्रगमनको बाटो लिने वातावरण बन्छ भने आवश्यक बुँदा थप गर्न तयार रहेको बताउनुभयो ।

उहाले शिक्षकहरुको असन्तुष्टि र कांग्रेसका कारण विधेयक रोकिएको भन्दै विधेयकलाई सहज रुपमा अघि बढ्ने वातावरण बनाउन कांग्रेस सभापति शेर बहादुर देउवलाई आग्रह समेत गर्नुभयो ।