
बिहिवार , श्रावण १, २०८२
काठमाडौं, १ साउन । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले विद्युत आयोजनाहरुको निर्माणका लागि आयातित उपकरण फिर्ता लैजाँदा उर्जा क्षेत्रले समस्या भोग्नुपरेको गुनासो गर्नुभएको छ ।
बिहीवार विद्युत विकास विभागको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । स्वदेशी लगानीमै ठूला जलविद्युत आयोजनाहरू निर्माण भइरहेका बेला आवश्यक उपकरण विदेशबाट ल्याउनुपर्ने र आयोजना सम्पन्न भइसकेपछि फिर्ता गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले विद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने उपकरण र प्रविधिको सहज उपलब्धता गरिदिन सरकारसँग आग्रह पनि गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले स्वदेशी लगानीमै विद्युतका ठुला ठूला आयोजनाहरु निर्माण कार्य सुरु गरेका छौं । यसका लागि विदेशबाट इक्युपमेन्ट लिएर नेपालमा काम गर्नुपर्ने र निर्माणसम्पन्न भइसकेपछि फिर्ता लैजाने कुराले हामीलाई निकै अप्ठ्यारो परेको छ । त्यो मागलाई सम्बोधन गर्नको लागि म माननीय मन्त्रीज्युसहितलाई अनुरोध गर्न चाहन्छु ।’
उहाँले सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्यअनुसार काम गर्न निजी क्षेत्र उत्साहित रहेको पनि बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij