
शनिवार , श्रावण ३, २०८२
भैरहवा, ३ साउन । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले कान सुन्न र बोल्न नसक्ने दुई बालकहरुको उपचारका लागि आर्थिक सहयोग गरेको छ । क्लबको १० औं पदस्थापन समारोहका अवसरमा रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा उक्त सहयोग गरिएको हो ।
क्लबका अध्यक्ष विष्णु शर्माले ‘क्लबको पहिलो सेवा परियोजना’ अन्तर्गत भैरहवाका श्रवण शक्ति र बोल्ने क्षमता नभएका जुम्ल्याहा बालकहरु एरिक र इभान थारुको उपचारमा ६१ हजार रुपैयाँ सहयोग गरिएको जानकारी दिनुभयो ।
उक्त सहयोग क्लबका अध्यक्ष शर्मा, रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रिक्ट गर्भनर नोमिनी डा.ईश्वरीप्रसाद ढकाल लगायतले बालकका बुवाआमालाई हस्तान्तरण गर्नुभएको हो ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ३ स्थायी घर भइ हाल सिद्धार्थनगर नगरपालिका–९ मा बस्दै आउनुभएका सन्तराम थारु र सुनिता कार्कीका साढे ४ वर्षका जुम्ल्याहा छोराहरू एरिक र इभानको जन्मजातै कान नसुन्ने समस्या छ । दुवै बालकहरुको कानमा कक्लियर इम्प्लान्ट राख्न कम्तीमा ४० लाख रुपैयाँ लाग्ने चिकित्सकले जनाएका छन् । आर्थिक अवस्था कमजोर भएपछि परिवारले सहयोगको अपील गरेको छ ।
बालकहरुको उपचारका लागि क्लबले अन्य रोटरी क्लब र संघ–संस्थालाई समेत सहयोगको आग्रह गरेको छ । अध्यक्ष शर्माले सानो सहयोगले बालकहरुको भविष्य उज्वल गराउन योगदान पुग्ने भएकाले सबैलाई सहयोग गर्न अपील गर्नुभयो ।
क्लबका पूर्वअध्यक्ष तथा सेवा परियोजना संयोजक डा. हिराबहादुर शाहले जन्मजात श्रवण र बोली क्षमता नभएका बालकहरुलाई सबै रोटेरियनहरूको तर्फबाट सहयोग उठाएर उपलब्ध गराइएको बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij