
आइतवार , श्रावण ४, २०८२
बुटवल, ४ साउन । रुपन्देहीको बुटवल सुख्खानगरस्थित एभरेष्ट इङलिस माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । विद्यालयको कक्षा ११ मा विज्ञान र व्यवस्थापन संकायमा अध्ययन गर्ने करिब पाँचसय विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि शुभकामना, सम्मान तथा अभिमुखीकरण गरेको हो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा परीक्षा व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले शिक्षामा उत्कृष्टता तथा सफलता हासिल गर्न निरन्तर मेहनत, अनुशासित र लगनशिल हुनुपर्ने बताउनुभयो ।
उहाँले पछिल्लो समयमा सुचना र प्रविधिको विकाससँगै विद्यार्थीहरुका लागि सिक्ने कुरामा अनुसन्धनात्मक र खोजमुलक ज्ञानको आवश्यकता पर्ने भएकाले सोहीअनुसारको अध्यापन गराउन अध्यापकहरुलाई आग्रह गर्नुभयो । उहाँले संस्थागत विद्यालयहरुबाट ठुलो शैक्षिक जनशक्ति उत्पादन भएको भन्दै एभरेष्ट माविको समेत प्रशंसा गर्नुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, एन–प्याब्सनका केन्द्रीय उपमहासचिवद्वय कृष्णप्रसाद पौडेल, विष्णुप्रसाद पौडेल, अभिभावक संघ नेपालका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, प्याब्सन लुम्विनी प्रदेश अध्यक्ष लालहरी पाण्डे, प्रहरी सहायक निरीक्षक खगेन्द्र पराजुली, विद्यालयका प्राचार्य कृष्ण न्यौपानेलगायतले उच्च शिक्षाका लागि अगाडि बढेका विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना दिदै लगन, मेहनत र प्रतिबद्ध भएर आगामी शैक्षिक यात्राको सुरुवात गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
चेतना विकास फाउण्डेशनका कार्यकारी प्रमुख कलम शिलवालले सहजीकरण गर्नुभएको कार्यक्रममा विद्यार्थीको भविष्य निर्धारणका लागि अभिभावक, शिक्षक र विद्यार्थी स्वयंले अपनाउनुपर्ने उपाय र दैनिक जीवनका क्रियाकलापका बारेमा जानकारी गराइएको विद्यालयका सह–प्राचार्य भिमसेन गौतमले जानकारी दिनुभयो ।
विद्यालयको प्लस टु विज्ञान विषय संयोजक डा. शालिकग्राम भण्डारीको स्वागत तथा शिक्षक माधव पौडेलको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयबाट विभिन्न समयमा अध्ययन पूरा गरी सरकारी सेवामा लागेका, डाक्टर, इञ्जिनियर तथा विभिन्न तहमा पुगेका पूर्व विद्यार्थीहरुलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको विद्यालयका लेखा प्रमुख ठाकुर ज्ञवालीले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij