
सोमवार , श्रावण ५, २०८२
बुटवल, ५ साउन । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, रुपन्देहीले गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघन गरेको भन्दै १ लाख ७० हजार ८० वटा सवारीसाधनलाई कारवाही गरेको छ ।
गत आर्थिक वर्ष २०८१/०८२ मा ट्राफिक प्रहरीले १७ करोड ८३ लाख ८३ हजार जरिवाना समेत उठाउन सफल भएको राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माले बताउनुभयो ।
एसपी शर्माका अनुसार आर्थिक वर्षमा २०८१/०८२ लुम्बिनी प्रदेशमा भएका ७ सय ४४ सडक दुर्घटनाबाट ५ सय ६ जनाको मृत्यु भएको छ भने ५ हजार ६ सय ९१ जना घाइते भएका छन् । राजमार्गमा सवारी व्यवस्थापनका साथै दुर्घटना न्यूनीकरण गर्न र सहरभित्रका पार्किङ व्यवस्थापन गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्लामा रहेका हरेक ट्राफिक कार्यालयहरू निरन्तर लागिरहेको उहाँको भनाइ छ ।
यस अवधिमा प्रदेश भरी सवारी दुर्घटना कम गराउन ट्राफिक जनचेतना जगाउन १५ हजार ५ सय १७ पटक जनचेतनामूलक कार्यक्रम गरिएको छ । सबैभन्दा बढी ४२ हजार ७ सय ७३ मालवाहक सवारीसाधनहरूलाई कारबवही गरिएको छ ।
त्यसै गरी बिना दर्ता सञ्चालित २ सय ४९ वटा टेम्पु तथा ई—रिक्सा, मोडिफाई गरिएका २ सय १९ वटा मोटरसाइकल, गाडीमा सिट थपेर सञ्चालन गरेका १७ वटा सवारी, नियमविपरीत यात्रु ओसारपसार गरेका ५ वटा भारतीय बस र तीव्र गतिमा कुदाउने ७ सय ४४ वटा सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
साथै कागपत्र बिना सञ्चालनमा रहेका ५६ थान स्कुटर र लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने ६ जना चालकहरूलाई कारवाही गरिएको छ । त्यस्तै विभिन्न स्थानमा १४ पटकमा ७ सय ६३ वटा सवारीसाधनलाई निःशुल्क मेकानिकल चेकजाँच गरिएको छ ।
प्रहरीका अनुसार दुर्घटना न्यूनीकरण गर्न सडक नाटक, जनचेतनामूलक साइनबोर्ड निर्माण, पर्चा पम्प्लेट वितरण लगायतका कार्यक्रमहरु पनि सञ्चालन गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij