
सोमवार , श्रावण ५, २०८२
सोममाया थिङ, यतिबेला निजगढ नगरपालिका, बारामा उपप्रमुख छिन् । अविवाहित सोममायाको जन्मघर बाराको साविक रतनपुरी गाविसको वडा नं.३ को कोलगाउँ हो । यतिबेला सो गाउँ, निजगढ नगरपालिका वडा नं.१२ मा पर्छ ।
गाउँकै लक्ष्मी आधारभूत विद्यालयमा कक्षा पाँचसम्म अध्ययन गरिन् । कक्षा पाँचसम्म प्रथम भइरहिन् । साइकिलमा आधाघण्टा टाढा पर्ने रतनपुरको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ६ पढ्न गइन् । काकाको थोत्रो साइकिलमा टिर्लिङ्गटिर्लिङ्ग घण्टी बजाउँदै स्कुल पुगेको हिजोजस्तै लाग्छ उनलाई । पछि उनका बाबा, सुरेन्द्रले सोममायालाई खसी बेचेर छ हजार पाँचसय रुपैयाँमा नयाँ साइकिल किनिदिए । नयाँ साइकिल चढ्दा खुसीको सीमा थिएन ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट २०६८ सालमा एसएलसी उत्तीर्ण गरिन् । बाबाआमाले भने–छोरी हामीले सक्नेजति पढायौं । आफ्नो खुट्टामा उभिएर पढ्न सके पढ । नत्र त हाम्रो के लाग्यो र ! यो कुराले सोममायाको मनमा ठूलो पहिरो गएको थियो । तर, उनले हिम्मत बटुलिन् । अघिको पढाइका लागि अनेक बाटाहरु खोजिन् । सोही विद्यालयबाट कक्षा ११ र १२ मा मूल विषय अङ्ग्रेजी लिइ उत्तीर्ण गरिन् । कक्षा ११ पढ्दै गर्दा गाउँमा खुलेको क्रियाशील बचत तथा ऋण सहकारीमा बजार प्रतिनिधि भई काम गरिन् । जति सदस्य थपिन्थे उनको सेवा उतिनै बढ्ने गर्थ्यो । दुई हजार तलबमा सेवा सुरु गरेकी उनले महिनामा चार हजार, पाँच सय रुपैयाँसम्म तलव थाप्थिन् । त्यो उनको क्षमता थियो ।
गाउँको स्कुल र सहकारीको सानोतिनो जागिर छाडेर स्नातक पढ्ने लक्ष्यका साथ उनी निजगढको गौरीशंकर क्याम्पस पुगिन् । सोहीबेला सामुदायिक वन महासंघ, बाराको कार्यालयमा स्वयमसेवक भई काम गर्न थालिन् । यूएसआइडीको आर्थिक सहयोगमा हरियो वन कार्यक्रम सञ्चालन गर्ने अवसर महासंघले पायो । त्यहीं जागिरे भइन् सोममाया । अंग्रेजी मूल विषयमा बिएड् पढेर पनि भ्याइन् । वनको प्रोजेक्ट पनि समापन भयो ।
डिग्री पढ्ने हुटहुटीले उनलाई छाडेन । काठमाडौं हान्निन् । दुईचार दिन होटल,रेष्टूरेण्टमा जागिर गरिन् तर उनलाई उक्त जागिरले मन बुझाउन सकेन । अनि मेकअप सामग्री बेच्ने गरी बजारीकरणमा आफूलाई समाहित गरिन् । कालीमाटीदेखि न्यूरोड,बाघबजार,विशाल बजारमा सबै घुमिन् । दुई दिनसम्म पैदलयात्रा गर्दा उनका घुट्टा सुन्निएर केराका थामजत्रा भए । डिग्री पढ्ने रहरलाई मनको कुनामा कुटुरो पारेर आफ्नै कोलगाउँ फर्किन् । यो कुरा २०७४ सालतिरको हो ।
देशमा पहिलोपटक स्थानीय तहको चुनाव हुने हल्ला चल्यो । गाउँका मिल्ने साथीहरु सबै मकवानपुरको हेटौंडामा म्यादी प्रहरीको फर्म भर्न जिल्ला प्रहरी कार्यालय पुगे । सोममाया पनि पुगिन् । एक, डेढ महिनाका लागि म्यादी प्रहरी भइन् । म्यादी प्रहरीमा हुँदाखेरी नै पूर्वमन्त्री पुरुषोत्तम पौडेलले उनलाई पटकपटक निजगढ आएर उपप्रमुखको उम्मेदवार बन्न फोन गरिरहे । सानै उमेरकी उनलाई कसरी पैसा कमाउने र आफ्नो शैक्षिक योग्यता बढाउने कुराले पिरोल्थ्यो । नेताको फोनले दिक्क भएपछि मोबाईल सूइचअफ गरेको कुरा सम्झिँदा यतिबेला मरिमरि हाँस्छिन् ।
म्यादी प्रहरीबाट आएको पैसाले डिग्री पढ्ने सपना भाइ बिरामी भएपछि तुहियो । ओखती खर्चबाट बचेको थोरै पैसा लिएर हेटौंडा फुपूको घरमा बसी लोकसेवा तयारी गर्न पुगिन् ।
मधेश प्रदेशको चुनाव २०७४ को असोज २ गते हुने भयो । उनलाई उनको पार्टीले उपप्रमुख बनाउने गरी हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मीना लामा,कैलाश श्रेष्ठले कुरा चलाए । उनी अनकनाइ रहिन् । पढेलेखेकी सोममायालाई टिकट दिंदा जनजातिको प्रतिनिधित्व भई चुनाव जित्न सकिने नेताहरुको विश्लेषण रहेछ । उपप्रमुख मीना लामाले सोममाया सानी छिन् । चुनाव लड्ने आइडिया पनि छैन भनेर बाटो खोली दिएपछि सोममायाको पालो भविष्यमा आउने गरी अर्कैलाई उपप्रमुखको टिकट दिइयो । सोममायाले राजनीति ढिला बुझिन् । हुन त विद्यार्थी राजनीतिमा सक्रिय उनलाई संसदीय राजनीति बुझ्न कठिन भयो ।
हेटौंडामा लोकसेवा तयारी गर्दैगर्दा उनलाई काभ्रेको महाभारत गाउँपालिकामा पर्ने सल्लेनी गाउँमा पुग्ने अवसर जुर्यो । बनेपाबाट विहान ७ बजे जीप चढेर बुढाखानी पुगिन् । त्यहाँबाट करिव चार घण्टा अखण्ड पैदल हिडेपछि सल्लेनी गाउँ पुगिन् । मावि अस्थायी करारमा पढाउने अवसर पाइन् । त्यहाँ जान उनले आफ्नै गाउँको सहकारीबाट १० हजार कर्जा काढेकी थिइन् । एक वर्षजति सल्लेनीको जनमोहन माविमा अंकल, अण्टीसँग बसेर पढाईन् । महाभारत गाउँको प्राकृतिक सुन्दरताले उनको मन फुरुङ्ग हुन्थ्यो । सदावहार जाडो । चिसोको कारण आँटोपीठो, ढिंडो र भात असाध्यै रुच्थ्यो । तर सिटोमोल किन्न दुई घण्टाको बाटो हिड्नुपर्ने, सहज जीवन काट्ने कुनै आधार नदेखेपछि शिक्षक लाइसेन्सको परीक्षा र डिग्रीको प्रवेश परीक्षा दिने निहुँमा हेटौंडा झरिन् र कहिल्यै फर्किनन् महाभारतको सल्लेनीमा ।
शिक्षा सेवा आयोगको लाइसेन्स परीक्षा उत्तीर्ण भइन् । हेटौंडा क्याम्पसमा डिग्री पढ्न थालिन् तर रोजगार शून्य ! दिमाख चक्करायो । रातभर निद लागेन । पागल नै हुन्छु कि भन्ने लाग्यो रे त्यतिबेला उनलाई । महाभारत लेकमा मावि अस्थायी करार शिक्षकबाट कमाएको पैसा तुरियो । सहरमा जागिर मिलेन । अनि फेरि आफ्नै कोलगाउँ फर्किन् । आफैले पढेको लक्ष्मी आधारभूत विद्यालयमा पढाउन । तलव थियो नगद १२ हजारमात्र । कहाँको १२ हजार, कहाँको ३७ हजार ? सम्झि ल्याउँदा त्यही कुराले उनको मनमा आगो लाग्थ्यो रे !
शुक्रवार स्कुल विदा भएपछि साँझमा सञ्चालित डिग्री क्लास लिन उनी पाँच बजे क्याम्पस पुग्थिन् । हेटौंडा पुग्न उनलाई कोलगाउँबाट दिउँसोको दुई बजे हिड्नुपर्थ्यो । सेमेष्टर प्रणाली क्लासमा हाजिर हुनुपर्ने बाध्यता थियो तर उनको व्यवहारिकताले प्राथमिकता पाउँथ्यो । उनका राजनीतिक गुरु कैलाश धितालको सहयोगमा क्याम्पस भर्ना र अन्य कागजी कामबाट झमेला कम बोक्नु पर्थ्यो । पछि उनले हेटौंडाकै जनप्रिय माविमा निजीस्रोतको शिक्षकमा अध्यापन गरे ।
२०७९ मा स्थानीय तहको निर्वाचन हुने भयो । उनको पार्टीले उनलाई निजगढ नगपालिकाको उपप्रमुखको टिकट दियो । चुनावी मोर्चा सम्हालिन् । रातो अवीर र माला लगाउनेमा परिन् । राज्यको सेवा, सुविधा प्राप्त गर्दैछिन् ।
विहानदेखि साँझसम्म विकास निर्माण, तालिम, गोष्ठी, सेमीनार, भेटघाट, भ्रमण र समस्या समाधानमा आफूलाई समर्पण गरेकी छिन् । कहिलेकाँही व्यस्तताले खाना खाने फुर्सद नहुने कुरा सुनाउँदै थिइन् । यता डिग्रीको थेसीस, क्याम्पसमा बुझाउन नपाउँदा उनलाई गिज्याइरहेको छ । यसै वर्षभित्र बुझाउने योजना बुनेकी छिन् ।
घरमा आमाबाबा, ८२ वर्षीय हजुरबाबा,भाइबुहारी र भदा छन् । आमाले खेतीकिसानी गर्छन् । भाइले जेसीभी चलाउँछन् । बाबा गाउँकै लक्ष्मी आधारभूत विद्यालयमा कार्यालय सहायकका रुपमा कार्यरत् छन् । बाबाकै निम्नस्तरको जागिरले आफू र भाइले पढ्न पाएको, परिवार धानिएको कुराले उनी आफै भावविह्ल भइन् । बाबाप्रति कृतज्ञ भइन् । यतिबेला आफू नगरपालिकाको उपप्रमुख भएर बाबाआमाको प्रतिष्ठा, इज्जत त बढाएको तर बाबाआमाका दुःख हटाउन नसकेकोमा सोममाया दुःखी छिन् । राजनीतिमा स्थायित्व नभएकोले अबको दुई वर्षपछि आफू के भइने हो चिन्ता प्रकट गरिन् । सधैं राजनीति, अवसर र सेवामा टिकी रहन कठिन हुने भएकोले आफ्नो भविष्य पनि म्यादी प्रहरीजस्तै त होला नि भन्दैथिइन् ।
मीठो पकाउन आउँछ उनलाई । त्योभन्दा मीठो आउँछ–कविता लेख्न । उनको ‘जनसेवक म’ शीर्षकको प्रकाशित कविताले खुबै चर्चा पाएको थियो । कवितामा उनी लेख्छिन्–
न खुलेर हाँस्न पाउँछु
न डुलेर हिड्न !
कहाँ छुट छ र ?
हाँस्दा जिम्मेवार भई हाँस्नुपर्छ ।
डुलेपनि जिम्मेवारीले डुलाउँछ ।
न खुसीले नाँच्न पाउँछु
न चयनले बाँच्न !
म खुसी हुन जनता खुसी हुनुपर्छ,
चयनले बाँच्न आफ्नै लडाइँ जित्नुपर्छ ।
न दिनको हिसाब छ
न रातको ?
न चिन्ता छ ज्यानको
निद्रा छैन आँखामा
भोक छैन पेटमा
न थकाई छ तनमा
छटपटी र बेचैन छ मनमा
केवल सपना र समृद्धिको !
जीवन के हो बुझ्ने समय छैन ?
परिवार के गर्दैछन् सोध्ने समय छैन
न सुखको आनन्द छ मनभरि
न पीर बिसाउने चौपारी छ
भोकसँग लड्नु दायित्व हो
शोकसँग भीड्नु कर्तव्य हो
सत्यसँगको समीपमा
सफलताको काखी च्याँपेर
आफ्नै गन्तव्यमा दौडिरहेकी छु ।
लुकाएर आफ्नो पीडा
छिपाएर आफ्नो दुःख !
हिमाल झैं हाँस्नुपर्छ,
नदीसरि बग्नुपर्छ
पिरजति पहाड भइ छेक्नुपर्छ,
सुख सबै बाँड्नुपर्छ !
आखिर जनसेवक न हुँ !
जनप्रतिनिधि न हुँ म !
नृत्यमा पारङ्गत छिन् । ठट्टा मजाक गर्न उनलाई कसैले भेट्दैन । हाँसेर, मिठो बोल्ने उनको बानीले धेरैलाई लठ्ठै पार्छ। उनको साधा जीवन र सरल व्यवहारप्रति सबै नतमस्तक छन् । पत्रकारिता पढेर टेलीभिजनमा समाचार भन्ने उनको ठूलो रहर गरिवीकै कारणले सम्भव हुन नसकेको उनको पीडा छ । पीडाको पहाडलाई चम्किलो मुहारले चुनौती दिदै अघि बढेकी सोममायाको सुदूर राजनीतिक भविष्य उज्ज्वल हुन सकोस् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij