
बुधवार , श्रावण ७, २०८२
भैरहवा । आन्तरिक राजस्व कार्यालय भैरहवाले राजश्व संकलनमा व्यापक सुधार गरेको छ । अघिल्ला आर्थिक बर्षहरुमा राजस्व संकलनमा कमजोर देखिएको कार्यालय आर्थिक बर्ष २०८१/०८२ देखि राजस्व संकलनमा अगाडि देखिएको छ ।
कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा १२ अर्ब ९८ करोड राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व बिभागबाट १३ अर्ब २७ करोड राजस्व संकलनको लक्ष्य पाएको कार्यालयले लक्ष्यको ९८ प्रतिशत राजस्व संकलन गरेको छ ।
विगतका केही वर्षमा आन्तरिक राजस्व विभागको राजस्व संकलन लक्ष्य शतप्रतिशत पूरा हुन सकेको थिएन । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक बर्ष २०८१/०८२ मा राजस्व रु दुई अर्ब ६५ करोड बढी राजस्व संकलन गरी २५ दशमलव ७ प्रतिशतले वृद्धि भएको प्रमुख कर अधिकृत प्रेमराज पोखरेलले जानकारी दिनुभयो ।
विगतमा मासिक राजस्व संकलनको लक्ष्यसमेत पूरा गर्न नसकेको कार्यालयले गत आवको भदौ, असोज, फागुन, वैशाख, जेठ र असार महिनामा सतप्रतिशत राजस्व संकलन गर्न सफल भएको प्रमुख कर अधिकृत पोखरेलले जानकारी दिनुभयो ।
कार्यालयले गत आवमा आयकरतर्फ एक अर्ब ७० करोड ११ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब ८६ करोड आठ लाख र अन्तः शुल्कबापत रु नौ अर्ब एक करोड ५६ लाख बढी राजस्व संकलन गरेको छ ।
सबैभन्दा बढी राजस्वको क्षेत्र ओगटेको अन्तःशुल्कतर्फ आव २०८०/०८१ को तुलनामा आव २०८१/०८२ मा एक अर्ब ९५ करोडभन्दा बढी राजस्व उठेको थियो । यस्तै आयकरतर्फ रु ३७ करोड (२८ दशमलव ३ प्रतिशत) र मूल्य अभिवृद्धि करतर्फ रु २९ करोड (१६ दशमलव ३ प्रतिशत) ले बढी राजस्व उठेको प्रमुख कर अधिकृत पोखरेलले बताउनुभयो ।
देशको अर्थतन्त्रका परिसूचकमा सकारात्मक सुधार देखिनु र उद्योग करकारखानमा उत्पादन क्षमता बढ्दा करको आकार स्वभाविक रुपले बढेको उहाँको भनाइ छ । नियमित, प्रभावकारी र क्षेत्रगत बजार अनुगमन, करको दायरामा नआएका र छुटेकालाई दायरामा ल्याउने र बक्यौता असुलीमा तीव्रता दिदै कर तिर्नु पर्छ भन्ने चेतनामा बिकास गरेका कारणले राजस्व संकलनको लक्ष्य नजिक पुगेको प्रमुख कर अधिकृत पोखरेलले बताउनु भयो ।
यसका साथै सर्वसाधारणमा कर शिक्षा प्रवाह र अनुसन्धानको प्रभावकारिता, नक्कली मूल्य अभिवृद्धि कर बीजक जारी गरी कर छल्नेमाथि अनुसन्धान र कारबाहीको दायरामा ल्याउने कार्यले राजस्व संकलनको लक्ष्य नजिक पुग्न सकिएको उहाँको भनाइ छ ।
सरकारले राजस्व दाखिलालगायतका भुक्तानीका काममा डिजिटल प्रणाली लागू गरेपछि साना करदाता सेवाग्राहीलाई सहज भएको छ । डिजिटल प्रणाली लागू हुँदा करदाता सेवाग्राही कार्यालयमै धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । जसले गर्दा करदाता र कार्यालय सबैलाई सहज भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij