२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

गीत, संगीतले समाजलाई उन्नत बनाउँछ : उपप्रधानमन्त्री सिंह

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं, ८ साउन । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले गीत, संगीत समाजलाई उन्नत बनाउने माध्यम भएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा गीतकार देवी पराजुलीका गीतहरु सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिभाशाली व्यक्तिहरुलाई आफूले सकेको मद्दत गर्नुले उसको मनोबल माथि उठाउन मद्दत पुग्ने बताउनु भयो ।

उहाँले आफू संगीत प्रेमी भएको बताउँदै समाजमा भएका कुरालाई यथार्थ रुपमा गीत संगीतका माध्यमबाट उतारेर हृदयस्पर्शी बनाउनुपर्ने बताउनु भयो । गीत, संगीतका लागि संविधानले दिएको अधिकार कार्यान्वयन गर्न आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘प्रतिभाशाली व्यक्तिलाई थोरै भएपनि हौसला बढाउनसके त्यो पनि उपलब्धि हुन्छ । गीत, संगीत समाजलाई उन्नत बनाउने माध्यम हो । म म्युजिक लभर हो । म सुन्छु । सुन्न पनि त चाहियो नि त ।

गीतले समाजमा भएका कुरालाई हृदयमा छुनेगरी गीतकारले रचना गरेपछि र गायकले पनि त्यही अनुसार गाएपछि गीत पूरा हुन्छ । संविधानमा भएका अधिकार कानून बनाएर कार्यान्वयनमा ल्याउनुपर्छ भन्नुभएको छ । त्यसमा मैले खेल्नुपर्ने भुमिका म खेल्नेछु ।’

उपप्रधानमन्त्री सिंहले संविधानमा भएका कुराहरुलाई कार्यान्वयन गराउन सबैको पहल जरुरी रहेको बताउनु भयो ।