
बिहिवार , श्रावण ८, २०८२
दाङ, ८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्षे उपलब्धीहरुको विवरण सार्वजनिक गर्नुभएको छ । राप्ती उपत्यका देउखुरीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धीहरुको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको स्पष्ट पार्नुभएको हो ।
‘सुशासनलाई केन्द्रबिन्दुमा राख्दै हामीले पाँचवर्षे रणनीतिक योजना तयार पारेका छौं, जसअनुसार राजस्व वृद्धि, पूँजीगत खर्चमा सुधार र प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति भएको छ,’ मुख्यमन्त्रीले भन्नुभयो–‘सुशासनको पाटोलाई दृढताका साथ अघि बढाइनेछ ।’ उहाँका अनुसार चालू खर्च कटौती गर्दै पुँजीगत खर्च बढाउने रणनीति प्रभावकारी रूपमा कार्यान्वयन भएको छ । कर्मचारी व्यवस्थापन, मन्त्रालय र मातहतका कार्यालयहरूको कार्यसम्पादन मूल्यांकन र अनुगमनका लागि ‘मुख्यमन्त्री ड्यासबोर्ड’ स्थापना गरिएको छ, जसबाट नीतिगत तथा कार्यान्वयन पक्षमा नियमित अनुगमन हुने व्यवस्था मिलाइएको छ ।
प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले कानून निर्माणमा लुम्बिनी प्रदेशले उल्लेखनीय सफलता हासिल गरेको बताउनुयो । ‘जनताले मूल्यांकन गर्न सक्ने गरी पारदर्शी ढंगले काम भएको छ । अब बाँकी रहेका सामाजिक न्यायसँग सम्बन्धित ऐनहरू यसै अधिवेशनमा पेस गरेर पारित गरिनेछ,’ सभामुखले घर्तीमगरले भन्नुभयो,‘जनताको भावना र पहिचानसँग जोडिएका सम्पदाहरूको संरक्षण, सम्वद्र्धन र कार्यान्वयनको दिशामा सरकार संवेदनशील भएर अगाडि बढ्नुपर्छ ।’
सरकार गठन भएको एक वर्षको अवधिमा प्रदेश सरकारले ७६ बुँदे उपलब्धी सार्वजनिक गरेको हो । संघीयताको संस्थागत अभ्यासमा लुम्बिनी प्रदेशले अग्रणी भूमिका खेलेको छ । सरकार जनताका लागि देखिने, भेटिने र सुनिने बनोस् भन्ने उद्देश्यका साथ सञ्चालन गरिएको नीति तथा कार्यक्रमहरूले प्रदेशलाई संघीय अभ्यासको ‘मोडेल’ प्रदेशको रूपमा उभ्याउने प्रयास गरेका छन् ।
प्रमुख सचिव बाबुराम अधिकारीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ईश्वरराज पौडेलले एकवर्षे उपलब्धिहरुको विवरण प्रस्तुत गर्नुभएको थियो भने सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण मुख्यमन्त्री कार्यालयका सचिव कविन्द्र नेपालले गर्नुभएको थियो ।
मुख्यमन्त्री ड्यासबोर्ड, किसान एप र अभौतिक साँस्कृतिक सम्पदाको विमोचन
प्रदेश सरकारले मुख्यमन्त्री ड्यासबोर्ड स्थापना गरेको छ । मन्त्रालय र सरकारका विभिन्न निकाय तथा कार्यालयबाट सम्पादन हुने कामहरुको अनुगमन गर्न मुख्यमन्त्री ड्यासबोर्डको मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको छ ।
त्यस्तै मुख्यमन्त्री आचार्य र उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले संयुक्त रुपमा अभौतिक सांस्कृतिक सम्पदाहरुको पुस्तक विमोचन गर्नुभएको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले उक्त पुस्तक प्रकाशन गरेको हो ।
कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री तथा सरकारका प्रवक्ता दिनेश पन्थीले कृषि एपको उद्घाटन गर्नुभएको छ । मुख्यमन्त्री ड्यासबोर्ड र किसान एप प्रदेश सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान लुम्बिनीले तयार पारेको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij