२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

अर्थमन्त्री पौडेलद्वारा तिलोत्तमाका विभिन्न योजनाहरुको स्थलगत अवलोकन

शनिवार , श्रावण १०, २०८२

बुटवल, १० साउन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाख पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ अन्तर्गत चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकन गर्नुभएको छ । अर्थमन्त्री पौडेल शुक्रबार साँझ उक्त वडामा चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकनमा पुग्नुभएको हो ।

उहाँले तिलोत्तमा–६ मा रहेको नौकट्टी सडक तथा वडा नम्बर ६ गोरकट्टास्थित निर्माणाधिन १५ शैयाको नगर अस्पतालको पनि अवलोकन गर्नुभएको छ । आनन्दवन स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा स्तरोन्नति गर्न लागिएको हो ।

अस्पताल पूर्ण निर्माण भई सञ्चालनमा ल्याउन १७ करोड लागत अनुमान गरिएको छ । १४ कठ्ठा क्षेत्रफलमा फैलिने अस्पताल स्थापनाको लागि स्व. गोपाल ओझान्ठाक्ष, अमृत प्रसाद ओझान्ठाक्ष र शम्भुप्रसाद ओझान्ठाक्षले जग्गा उपलब्ध गराउनुभएको थियो । यो अस्पतालको शिलान्यास २०७७ सालमा अर्थमन्त्री पौडेलले नै गर्नुभएको थियो । उहाँले अस्पताल निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिनुभएको थियो । सो क्रममा स्थानीय २०८४ अघि नै अस्पताल निर्माणको काम सम्पन्न गर्न अर्थमन्त्री समक्ष आग्रह गर्नुभयो । 

अर्थमन्त्रीका साथमा सहभागी तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वर देवी चौधरी र तिलोत्तमा–६ का वडाअध्यक्ष गणेश पाठकले यो अस्पताल सिंगो नगरको गौरवको विषय भएकाले यसलाई सकेसम्म छिटो पूरा गर्न ध्यानाकर्षण गराउनुभयो । त्यसक्रममा अर्थमन्त्री पौडेलले अस्पताल निर्माणसम्पन्न गर्न सरकारले यथासक्य सहयोग गर्ने भन्दै निर्माणको कामलाई गति दिन आग्रह गर्नुभयो ।

त्यस्तै अर्थमन्त्री पौडेलले पश्चिम पहुनी माध्यमिक विद्यालय, मोक्षधामको समेत अवलोकन गर्नुका साथै वस्तुस्थितिबारे जानकारी लिनुभएको थियो । त्यस्तै उहाँले कुन्जलापुरमा रहेका दुईवटा पुलको निरीक्षण गर्नुका साथै कुन्जलापुरदेखि नगर अस्पतालसम्म जाने ३ करोड लागतको सडक र  गोरकट्टादेखि गणेशपुर जाने ३ करोड लागतको कुलोको समेत अवलोकन गरी वस्तुस्थितिबारे जानकारी लिनुभएको थियो । अर्थमन्त्री पौडेलले कुन्जपार्कको पनि शुक्रबार अवलोकन गर्नुभएको छ ।

शुक्रबार वडा नम्बर ३, ४ र ६ अन्तर्गत सञ्चालित नयाँ र चालु योजनाहरुको अवलोकन गर्ने तय भए पनि समय अभावका कारण वडा नम्बर ६ मा सञ्चालित योजनाहरुको मात्रै पौडेलले अवलोकन गर्नुभएको हो ।