२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

विकास निर्माण कार्यमा दलीय राजनीतिभन्दा माथि उठेर काम गर्न अर्थमन्त्रीको आग्रह

शनिवार , श्रावण १०, २०८२

बुटवल, १० साउन । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सामाजिक विकास र भौतिक विकासका कार्यहरु गर्दा दलीय र राजनैतिक चिन्तनभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ स्थित तामनगरमा करिब ५ करोडको लागतमा निर्माण भएको राजपुर खानेपानी आयोजनाको स्वामीत्व उपभोक्ता समितिलाई हस्तान्तरण गर्दै अर्थमन्त्री पौडेलले कुरा गरेर मात्रै विकास नहुने बताउनुभयो । 

गफ गरेर मात्रै विकास हुन्छ भन्ने कुरामा आफूले कहिल्यै विश्वास नगरेको उल्लेख गर्दै मन्त्री पौडेलले जनताका असीमित चाहना र भावना पूरा गर्न वर्तमान सरकार भरमग्दुर प्रयासरत रहेको दावी गर्नुभयो । पछिल्लो समय विकास निर्माणका कामले गति लिएको चर्चा गर्दै उहाँ भौतिक विकाससँगै सामाजिक विकासका कामहरु अघि बढाउन उत्तिकै आवश्यक रहेकोमा जोड दिनुभयो । 

सरकारका विषयमा उठेका विभिन्न टिकाटिप्पणीप्रति लक्षित गर्दै मन्त्री पौडेलले वर्तमान सरकार कसैले हल्लाएर हल्लिने र ढालेर ढल्ने प्रकृतिको नभएको जिकिर गर्दै सरकार आगामी आम निर्वाचनसम्म यही साझेदारीमा चल्ने बताउनुभयो । आगामी  निर्वाचनसम्म समग्र मुलुकमा विकासको नमूना प्रस्तुत गर्दै समृद्धिको यात्रा तय गर्ने अठोटका साथ सरकार अघि बढेको उहाँले बताउनुभयो ।

IMG_20250726_085854.jpg

सो अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख राजकुमार चौधरी लगायतले जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने सरकारको दायित्व रहेको उल्लेख गर्नुभयो । उहाँहरुले यसको उचित व्यवस्थापनका लागि स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

करिब ५ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न सो आयोजना नेपाल सरकारको सशर्त अनुदान अन्तर्गत लुम्बिनी प्रदेश सरकारद्वारा निर्माण गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीले जनाएको छ।

आर्थिक वर्ष २०७३/०७४ मा सुरु भएको सो आयोजना गत आर्थिक २०८१/०८२ मा सम्पन्न भएको प्राविधिक ईश्वरी आचार्यले जानकारी दिनुभयो । कुल १ लाख लिटर क्षमताको १ सय घनमिटर ठुलो ट्यांकीसहित वितरण प्रणाली आदि निर्माण सम्पन्न भइ करिब ६ सय घरमा पानी उपलब्ध गराइएको उहाँको भनाइ छ ।