
शनिवार , श्रावण १०, २०८२
भैरहवा, १० साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले ब्रम्हकुमारी ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयमा सडक प्रयोगकर्ताहरुलाई ट्राफिक सचेतना तथा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी कार्यक्रम गरेको छ ।
शनिबार विश्व विद्यालयको सभाहलमा भएको कार्यक्रममा कार्यालयले सिद्धार्थनगरबासी तथा सरोकारवाला निकाय, ओम शान्ति परिवार, जनप्रतिनिधि र सञ्चारकर्मीहरुलाई सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि विषयमा सचेतना प्रदान गरेको हो ।
कार्यक्रममको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले ट्राफिक नियमको पालना गरे मानिस सुरक्षित हुने बताउनुभयो । उहाँले सडकमा हिंड्ने यात्रुदेखि लिएर सवारीचालकहरुलाई ट्राफिक नियमको पूर्ण जानकारी हुनुपर्नेमा जोड दिनुभयो ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय भैरहवाकी प्रमुख शान्ती सुवेदीले सधै ध्यान र आत्मज्ञान प्रदान गर्ने हलमा सबैलाई राखेर ट्राफिक सचेतना गर्न पाउन खुसी र आनन्द प्राप्त भएको बताउनुभयो ।
‘हामी सबैले दैनिकजसो सडक प्रयोग गर्नुपर्ने हँुदा सडक प्रयोग गर्दा ट्राफिक नियमको जानकारी हुनुपर्छ, ’उहाँले भन्नुभयो । उहाँले जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले दिएको यो ज्ञान सबैले व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो ।
ट्राफिक सचेतनाका प्रशिक्षक तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक रन्जु के.सी.ले सहभागीलाई सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने ट्राफिक नियमहरुको विषयमा प्रशिक्षण दिनुभयो । उहाँले सडक प्रयोगकर्ता तथा सवारीचालक र पैदलयात्रीले सडक प्रयोग गर्दा अपनाउनुपर्ने नियमहरुका विषयमा जानकारी दिनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न सचेतनामूलक कार्यक्रम गर्नुका साथै सडक व्यवस्थापनका क्षेत्रमा कार्यहरु गरेको छ ।
कार्यालय प्रमुखको रुपमा प्रहरी निरीक्षक के.सी.को आगमनसँगै ट्राफिक प्रहरीलाई प्रविधिमैत्री बनाउनुका साथै तीव्र गतिबाट हुने सवारी दुर्घटना न्यूनीकरण गर्न सिद्धार्थ राजमार्गमा राडरगनसहितको एनपीआर क्यामरा जडान गरी सवारीसाधनलाई निगरानी बढाउने र कारवाही गर्ने कामले निरन्तरता पाएको छ ।
ट्राफिक प्रहरीले विभिन्न विद्यालय तथा क्याम्पस र संघ–संस्थामा ट्राफिक सचेतना कार्यक्रम गरेको छ । मानिसहरुलाई सडकमा सुरक्षित यात्रा गर्नका लागि ट्राफिक प्रहरीले विभिन्न अभियान सञ्चालन गर्नुका साथै स्थानीय पालिकासँग सहकार्य गरी ट्राफिक सचेतना र सवारीसाधन व्यवस्थापनमा लागिपरेको कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij