
आइतवार , श्रावण ११, २०८२
रुपन्देही, ११ साउन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको बुटवल उपमहानगरपालिका अन्तर्गत सञ्चालित विभिन्न विकास आयोजनाहरुको शनिबार स्थलगत निरीक्षण गर्नुभएको छ ।
अर्थमन्त्री पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा सञ्चालित विकास आयोजनाको कार्यान्वयन र गुणस्तरीयताका विषयमा शुक्रबारदेखि तीनदिने स्थलगत निरीक्षणमा व्यस्त हुनुहुन्छ ।
अर्थमन्त्री पौडेलले आइतबार समेत जिल्लाका विभिन्न विकास आयोजनाको स्थलगत निरीक्षण गर्नुहुने नेकपा (एमाले) बुटवल उपमहानगरपालिका अध्यक्ष शोभाखर पोखरेलले जानकारी दिनुभयो ।
अर्थमन्त्री पौडेलले शनिबार बुटवल उपमहानगरपालिका वडा नम्बर १२, १३ र १५ अन्तर्गत सञ्चालित विभिन्न विकास आयोजनाहरुको स्थलगत निरीक्षण गर्नुभएको हो । उहाँले बुटवल उपमहानगरपालिका वडा नम्बर १३ अन्तर्गत रहेको प्रदेश सरकार अन्तर्गत निर्माण हुने उजिर सिंह रंगशालाको निरीक्षण तथा स्थानीयहरुसँग छलफल समेत गर्नुभएको छ ।
त्यस अवसरमा अर्थमन्त्री पौडेलले नियम, कानून र प्रक्रियाका जटिलता फुकाउन ढिला भए पनि अब रंगशाला निर्माणका काम अघि बढ्ने बताउनुभयो । उहाँले सिंगो बुटवलको विकास निर्माणका लागि योजना ल्याउन आग्रह गर्दै विकासको काम गतिका साथ अघि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बुटवललाई अब धुलो र हिलोमुक्त सडक बनाउने अभियान थाल्छांै, बजेटको चिन्ता गर्नुपर्दैन ।’
उहाँले विकास निर्माणको काममा जनस्तरबाट गुणस्तर, काममा ढिलाइ र प्राविधिक अनुगमन भए नभएको नागरिक सहभागीतामा निगरानी हुनु जरूरी रहेको बताउनुभयो ।
उक्त आयोजना लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को गत फागुन ६ गतेको निर्णय अनुसार आयोजना कार्यान्वयनका लागि युवा तथा खेलकुद मन्त्रालयबाट प्रदेश पूर्वाधार विकास प्राधिकरणमा हस्तान्तरण गरेको गरी ठेक्का प्रक्रिया अघि बढाइएको हो । आयोजनाको कुल लागत अनुमान रु. ५३ करोड रहेको र एकैपटक आयोजना कार्यान्वयन गर्न नसकिने भएकाले दुई चरणमा छुट्टाई पहिलो फेजमा रु. १० करोड ७६ लाख ६१ हजार लागत अनुमान स्वीकृत गरी टेण्डर प्रक्रियामा गएको स्वीकृत भएको आयोजनाका इञ्जिनियर शंकर सुवेदीले जानकारी दिनुभयो । आयोजना अन्तर्गत रंगशालामा भिलिएनसहितको फूटबल स्टेडियम, मल्टीप्रपोज कभर्डहल, स्विमीङ पुल, क्यान्टिन पार्किङ, बाल उद्यान निर्माण गरिने इन्जिनियर सुवेदीले जानकारी दिनुभयो ।
त्यस अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले जनचाहना अनुसार बुटवलको विकासमा जनतासँग सहकार्य गरेर अघि बढने बताउनुभयो ।
त्यस्तै अर्थमन्त्री पौडेलले बुटवल उपमहानगरपालिका वडा नम्बर १५ स्थित कर्सा घाटमा निर्माणका लागि प्रस्ताव गरिएको कृषि उपज केन्द्र क्षेत्रको स्थलगत अवलोकन गर्नुभयो । नेपाल सरकारको महत्वपुर्ण मानिएको आयोजनाको चालु आर्थिक वर्षमा कृषि उपज केन्द्रका लागि जग्गा प्राप्ति गरेर भौतिक पूर्वाधार निर्माणका काम अघि बढाइने लक्ष्य रहेको छ । यसका लागि चालु आर्थिक वर्षमा रु. ४ अर्व भन्दा बढी लगानी हुने जनाइएको छ ।
त्यसै गरी पौडेलले संघीय सरकारबाट बिनियोजित बजेटबाट निर्माणाधिन वडा नम्बर १५ को बुटवल तामनगर–फर्साटिकर सडक, नयाँगाउँ खानेपानी आयोजना, बुटवल १३ को सेवापथ, बेलवास–झोलुंगे पुल सडक लगायतको समेत स्थलगत निरीक्षण गर्नुभएको एमाले बुटवल उपमहानगरपालिकाका अध्यक्ष शोभाखर पोखरेलले जानकारी दिनुभयो ।
एमालेका केन्द्रीय उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले बजेट निर्माण तथा पार्टीको कामको व्यस्तताले जिल्ला भ्रमणमा आउन नपाएको अवस्थामा यसपटक भने दर्जनभन्दा बढी कार्यक्रममा सहभागी जनाउन जिल्ला आउनुभएको पार्टीको रुपन्देही जिल्ला सचिवालय सदस्य यम पाण्डे बताउनुहुन्छ ।
यसैक्रममा शनिबार अर्थमन्त्री पौडेलले आफ्नो निर्वाचन क्षेत्रसँगै जिल्लाका अन्य क्षेत्रमा सञ्चालित आयोजनाहरुको स्थलगत निरीक्षणका क्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १५ कर्साघाटमा संघीय सरकारको विशेष आयोजनामा निर्माण हुन लागेको कृषि उपज केन्द्रबारे जानकारी लिन पुग्नुभएको थियो । प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, पार्टीका विभिन्न तहका नेताहरु तथा सो क्षेत्र वरिपरी रहेका कार्यकर्ता र केही स्थानीयसमेत उहाँ त्यहाँ पुग्ने सूचना पाएसँगै पुगेका थिए ।
तर, गाडीबाट झरेपछि आयोजना नजिकै स्थानीय युवाहरू क्रिकेट खेलिरहेका देखेर एकछिन स्थानीय युवा खेलाडीसँग अनौपचारिक छलफल गर्नुभएको थियो । त्यसक्रममा खेलाडीहरू मन्त्री पौडेललाई देखेपछि आफ्नो खेलमैदान बनाउन मागसहित अगाडि सारे । त्यसक्रममा उपप्रधानमन्त्री पौडेलले खेलाडीहरूसँग सामिप्यता बढाउन खेल्ने रुची देखाउनुभयो । मन्त्री पौडेलले मैदान प्रवेश गरेर सिधै ब्याट समाउनुभयो । एमाले पोलिटब्यूरो सदस्य तथा राष्ट्रिय सभाका पूर्व सदस्य खिमलाल भट्टराईलले बलिङ गर्नुभएको दोस्रो बलमा मन्त्री पौडेलले चौका प्रहार गर्न सफल हुनुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij