२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

भैरहवामा मनाइयो विश्व मानव बेचविखनविरुद्ध दिवस

मंगलवार , श्रावण १३, २०८२

भैरहवा, १३ साउन । विश्व मानव बेचविखनविरुद्ध दिवस रुपन्देहीको भैरहवामा पनि मनाइएको छ । ३० जुलाई २०२५ को अवसरमा मानव बेचविखनविरुद्ध अभिमुखीकरण कार्यक्रम गरी दिवस मनाइएको हो ।

सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको हो । ५२ जना सहभागी विद्यार्थीहरुलाई माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीले प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले अशिक्षित, गरीब, घरेलु हिंसामा परेका एकल महिला, बेसहारा, रोजगारीको खोजीमा भौतारिरहेका महिला तथा युवती बेचविखनको जोखिममा पर्ने गरेको बताउनुभयो ।

यौन व्यवसाय, घरेलु कामदार र श्रम शोषण, कृषि, कलकारखाना, उत्तेजक नाच, होटल रेष्टुरेष्ट, मसाज, पार्लर, सर्कस, माग्ने बनाउन, मानव अंग खरिदविक्रीका लागि बेचबिखन ओसारपसार गरिने गरेको पाइएको क्षेत्रीले बताउनुभयो । खास गरी प्रमुख गन्तव्यका रुपमा भारतको मुम्बई, दिल्ली, कोलकाता, पुना, शिलगुढी जस्ता ठाउँहरु बेचबिखनका मुख्य गन्तव्य हुने गरेकोमा नयाँ गन्तव्यका रुपमा खाडी देशहरु कुबेत, साउदी अरब, बंगलादेश, चीन, दुबई, इराक पर्ने गरेका छन ।

मानव बेचविखन तथा ओसारपसरमा संलग्न व्यक्तिलाई नेपालको कानूनमा १ महिना देखि २० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । त्यस्तै गरी ५० हजारदेखि ५ लाखसम्म जरिवानाको पनि व्यवस्था रहेको उहाँले बताउनुभयो ।

नियन्त्रणका लागि थुप्रै चुनौती रहेको पनि उहाँले बताउनुभयो । दुई दशक अघिदेखि यसै क्षेत्रमा काम गरिरहनुभएकी संयोजक क्षेत्रीले सूचना प्राप्त गर्न ग्राहो हुनु, साक्षी गवाह, र सबुत प्रमाणहरु संकलन गर्न ज्यादै कठिन हुनु, स्थानीयस्तरमा प्रतिकार र दबाब समूहको सक्रियताको अभाव जस्ता चुनौती रहेको स्ष्पष्ट पार्नुभयो । समन्वयको अभाव, दक्ष जनशक्तिको अभाव, लंैगिक विभेद, घरेलु हिंसा, धार्मिक तथा सामाजिक कुरीतिहरु चुनौती रहेको उहाँले बताउनुभयो ।

6655b8d1-23cc-4873-9b2d-7f2a5b39e188.jpeg

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिना भण्डारी लगायतले बोल्नुभएको थियो ।