२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

जथाभावी फोहोर फाल्नेमाथि भैरहवामा कडाइ

मंगलवार , श्रावण १३, २०८२

भैरहवा, १३ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले जथाभावी फोहोर फाल्नेमाथि कडा निगरानी गरिरहेको छ । फोहोर उठाउन नियमित रुपमा ट्याक्टरहरु घरघरमा पुर्याउँदा समेत सार्वजनिक स्थान, सडक किनार जस्ता क्षेत्रमा फोहोर फाल्ने क्रम नरोकिएपछि नगरपालिकाले निगरानी बढाएको हो । 

नगरपालिकाले फोहोरको प्रकृति हेरेर जथाभावी फोहोर फाल्नेलाई फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (क) अनुसार ५० हजारसम्म जरिवाना तिराउन सक्ने व्यवस्था छ । सोहीबमोजिम पछिल्लो दुई महिनामा नगरपालिकाले जथाभावी फोहोर फाल्ने पसल तथा व्यक्तिहरुको भिडियो र फोटो संकलन गरी १८ जनालाई कारवाही गरेको फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख यादव प्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले नगरपालिकाले ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तिराएको छ ।

पटकपटक सम्झाउँदा अटेर गर्ने र लुकिछिपी नियमित रुपमा जथाभावी फोहोर फाल्नेको पहिचान गरी कारवाही प्रक्रिया अघि बढाइएको छ । त्यसको लागि बढी फोहोर फालिने स्थानहरुको पहिचान गरी बिहान–साँझ नगरप्रहरी परिचालन गरिएको नगरपालिकाको प्रशासन महाशाखा प्रमुख देव प्रसाद ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीका अनुसार जथाभावी फोहोर फाल्ने र सडक छेउछाउमा लगाइएको फूल टिप्ने, रुख–विरुवाहरुको हाँगा भाच्नेहरुमाथि समेत निगरानी बढाइएको छ ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले नगर सुन्दरीकरण गर्ने, हरियाली बनाउने कुरा एउटा मात्र निकायले गरेर सम्भव नहुने हुँदा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सिद्धार्थनगर गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार समेत रहेकाले यस नगरलाई सफा, हराभरा र वातावरणमैत्री बनाउने अभियानमा आफू लागेको र त्यसमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।