२०८२, श्रावण १५ गते

Jul 31 2025 | २०८२, श्रावण १५ गते

रास्वपा संसदीय दल बैठक : भ्रष्टाचारका मुद्दालाई सदन र सडकबाट उठाउने

बुधवार , श्रावण १४, २०८२

भैरहवा, १४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भष्टाचार लगायतका नागरिकका मुद्दालाई सडक र सदनबाट थप सशक्त ढंगले उठान गर्ने निर्णय गरेको छ । पार्टीको बुधबार (आज) रुपन्देहीको भैरहवामा बसेको संसदीय दलको बैठकले रास्वपालाई सदन र सडकबाट थप प्रभावकारी ढंगले उठाउने निर्णय भएको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । 

भिजिट भिसाको आवरणमा भष्टाचार, मानव बेचविखन र मानव तस्करी लगायतका मुद्दा संसदमा उठाएर रास्वपा जनताका मुद्दासँगै रहेको जानकारी दिदै प्रमुख सचेतक परियारले पार्टीले अन्य किसिमका भष्टाचारका फाईल खोल्न पनि सरकारलाई दबाब दिने बताउनुभयो । उहाँले नागरिकका मुद्दा सदनमा स्थापित गराउन पार्टी सफल भएको रास्वपाले निचोड निकालेको बताउनुभयो ।

दलका उपनेता विराजभक्त्त श्रेष्ठको अध्यक्षतामा दिउँसो साढे १ बजे सुरु भएको बैठक साँझ ६ बजे सकिएको थियो । बैठकमा १९ जना सांसदको सहभागीता थियो । पार्टीले आगामी दिनको आन्दोलनलाई थप फराकिलो बनाउँदै सदन र समितिमा सशक्त भएर आवाज उठाउन निर्देशन गर्ने निर्णय गरिएको प्रमुख सचेतक परियारले जानकारी दिनुभयो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि सरकारलाई आवश्यक दबाब दिने बताउँदै स्थानीय मुद्दाहरुमा पार्टीले हातेमालो गर्दै हिंड्ने पनि बताउनुभयो ।

आसन्न कार्तिक २७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका विषयमा भने कुनै पनि निर्णय नगरिएको परियारले जानकारी दिनुभयो ।