
बुधवार , श्रावण १४, २०८२
भैरहवा, १४ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले नेपाल भारत सीमाक्षेत्र बेलहियामा पुगेर ट्राफिक सचेतनामूलक कार्यक्रम गरेको छ । सीमा क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्नका लागि ट्राफिक प्रहरी भन्सार बिन्दुमा नै पुगेर सचेतना तथा सरोकारवाला निकायसँग छलफल गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही र नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगर, रुपन्देहीको संयुक्त आयोजनामा बुधबार ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।
भैरहवा भन्सार कार्यालयको सभाहलमा भएको कार्यक्रममा बोल्दै विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले ओभरलोड तथा भारतीय ट्याक्सीको व्यवस्थापनमा सबै पक्षले मिलेर काम गर्नुपर्ने धारणा राखेका थिए । सीमा क्षेत्रमा अव्यवस्थित पार्किङका कारण भिडभाड तथा आवतजावतमा समेत समस्या आउने गरेको स्थानीयहरुको भनाइ थियो ।
कार्यक्रममा नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरका अध्यक्ष मधु प्रसाद पन्थीले सीमा क्षेत्रमा देखिएको ट्राफिक व्यवस्थापनको समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो । उहाँले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनको सहजीकरणका लागि भन्सार एजेण्ट संघ तयार रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले भन्सार क्षेत्रमा अनावश्यक भिडभाड हटाउनुपर्ने भन्दै सरोकारवाला निकायहरुले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्सार बिन्दुबाटै ट्राफिक नियमको पालना गराउनका लागि ट्राफिक प्रहरी र नेपाल प्रहरीले पहल गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा उठेका विषयमा बोल्दै कार्यक्रमका प्रशिक्षक तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरिक्षक रन्जु के.सी.ले भन्सार विन्दुबाटै ओभरलोड नियन्त्रण गर्नुपर्नेमा सबैले सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले सीमा क्षेत्रमा भएका भारतीय ट्याक्सीहरुलाई हटाउने तथा अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्नेतर्फ जिल्ला ट्राफिक प्रहरी कार्यालयले काम गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा ट्राफिक प्रहरी, भैरहवा भन्सार कार्यालयका कर्मचारी, नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरका सदस्यहरु, सञ्चारकर्मीहरु, सशस्त्र प्रहरी, ट्याक्सी व्यवसायी संघ, बेलहिया गाउँ समाज, रेडक्रस सोसाईटी बेलहिया उपशाखा, लुम्बिनी खुकुरी क्लबका सदस्यहरु, नेपाल भारत मैत्री संघ, बेलहिया माध्यमिक विद्यालय, सोट्टो नेपाल, गृह लक्ष्मी समुह, बेलहिया आमा समूह, आफन्त नेपाल बेलहिया, ज्ञानपथ आमा समूह, भूपू सैनिक संघ लगायत दर्जन संघ–संस्थाहरुको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij