२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

सेफ नेपाल : द प्रोफेशनल्समा १२० जनाको आवेदन, २१ जनाको प्रमाणीकरण पूरा

शनिवार , श्रावण १७, २०८२

काठमाडौं, १७ साउन । सेफ नेपाल : द प्रोफेशनल्स प्रतियोगिताका लागि हालसम्म १२० प्रोफेशनल सेफले आवेदन दिएका छन् । आयोजकका अनुसार नेपाल र विदेश दुवै ठाउँमा काम गर्ने सेफहरुले आवेदन दिएका हुन् ।

नेपालबाट ३५ वटा होटल, रेस्टुरेन्ट तथा शैक्षिक संस्थामा आबद्ध सेफ तथा विभिन्न देशमा कार्यरत ६५ सेफले आवेदन दिएका छन् । जसमा भारतबाट २४, अष्ट्रेलियाबाट ८, दुबईबाट ६, साउदी अरेबियाबाट ५, कतारबाट ४, बेलायतबाट ३, डेनमार्क, अमेरिका, माल्दिभ्स र कुवेतबाट २/२, र स्विडेन, क्यानडा, हङ्गकङ्ग, सेसेलिस, ओमन, क्रोएसिया, साइप्रस लगायत देशहरुमा कार्यरत सेफहरुले आवेदन दिएका छन् ।

प्राप्त आवेदनमध्ये २१ आवेदकहरुको प्रमाणीकरण पूरा भइसकेको छ । प्रमाणित आवेदकहरुको जानकारी सेफ नेपालको वेबसाइट तथा सामाजिक सञ्जालबाट प्राप्त  गर्न सकिनेछ । यो प्रोफेशनल सेफहरुको प्रतिष्पर्धात्मक कुकिङ्ग रियालिटि शो हो । यसमा प्रोफेशनल सेफ मात्रै सहभागी हुन पाउँछन् । कमर्सियल किचनमा पाँच वर्षभन्दा बढी काम गरेकोको अनुभव भएको र डेमी सिडिपीभन्दा माथिल्लो तहका सेफहरुले आवेदन दिन सक्नेछन् ।

हालसम्म प्राप्त आवेदनमा दुसित प्रिन्सेस, भिभान्ता, साउदी एयरलाइन्स क्याटरिङ्ग, दुसितथानी मालदिभ्स, एकेडेमी अफ कलिनरी आर्टस्, सिल्भर माउण्टेन कलेज, मेरियट काठमाडौँ, होटल ताज मुम्बई, हायात रेजेन्सी, जुमेराह मस्कट ओमन, मक्र्युर होटल, आल्मा होटल रियाद, लगायत र अन्य रेष्टुरेण्टहरुमा कार्यरत सेफ छन् ।

देश वा विदेशमा रहनुभएका इच्छुक प्रोफेशनल सेफहरुले यस शोमा अझै पनि आवेदन दिने मौका खुला छ । उनीहरुले सेफ नेपालको वेबसाइटमार्फत रजिष्ट्रेशन दर्ता गर्न सक्छन् । आवेदन दिँदा आफ्नो सम्पूर्ण विवरणका साथ फोटो र बायोडाटा अपलोड गर्नुपर्नेछ ।

आयोजकले आवेदन छिट्टै बन्द गरिने र शोको अन्य तयारीहरु अघि बढाउने जनाएको छ । यस बारे थप जानकारी सेफ नेपालको वेबसाइट तथा सामाजिक सञ्जालबाट प्राप्त गर्न सकिनेछ ।