
आइतवार , श्रावण १८, २०८२
कपिलवस्तु, १८ साउन । नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कार्यसमितिको तेस्रो बैठक कपिलवस्तुको बाणगंगामा सम्पन्न भएको छ । बैठकमा बोल्ने वक्ताहरूले लुम्बिनी प्रदेशको निजामती सेवा ऐन, नियमावली र स्थानीय सेवा ऐन, नियमावलीमा देखिएका समस्या समाधान गर्नका लागि प्रदेश सरकारसँग आग्रह गर्नुपर्ने, संघीय निजामती सेवा ऐन सेवाग्राहीमैत्री र कर्मचारीमैत्री हुने गरी जारी गर्न पहलकदमी लिनुपर्नेमा जोड दिनुभएको थियो ।
हालसम्म ऐन, नियमावली निर्माण र त्यसको कार्यान्वयनमा देखाएको भूमिकाप्रति प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित सरकारलाई धन्यवाद ज्ञापन गरिएको छ । बैठकलाई संगठनका केन्द्रीय उपाध्यक्ष रेवन्त गौतम, कृष्णबहादुर केसी, लुम्बिनी प्रदेश ईञ्चार्ज कवि सिंह कठायत, उपमहासचिव बामदेव ओली, पेशागत ईञ्चार्ज कल्पना थापा, सह–ईञ्चार्ज नारायण भण्डारीलगायतले सम्बोधन गर्नुभएको थियो ।
बैठकले लुम्बिनी प्रदेश निजामती सेवा ऐन, नियमावली तथा स्थानीय सेवा ऐन र नियमावली संशोधनसम्बन्धी सुझाव कार्यदल गठन गर्ने, लुम्बिनी प्रदेश संगठन डायरी प्रकाशन गर्ने, जयराम खड्का स्मृति कोष स्थापना गर्ने लगायतका निर्णयहरू गरेको छ ।
संगठनका प्रदेश सचिव जयराम खड्काको निधन भएको स्मृतिमा स्थापना गर्ने निर्णय गरिएको छ । बैठकमा २५ हजार रुपैयाँको चेक उहाँकी श्रीमती हिरा खड्कालाई हस्तान्तरण गरिएको थियो । तेस्रो बैठकअघि सचिवालय बैठक समेत बसेको थियो । बैठकको सहजीकरण महासचिव भिमलाल खनालले गर्नुभएको थियो । संगठनका अध्यक्ष नेत्र आचार्यको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष भवानी न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
शहीदको स्मृतिमा रक्तदान कार्यक्रम
शहीद मनोज झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको सन्दर्भमा नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कार्यसमितिले रक्तदान कार्यक्रम आयोजना गरेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका–४ ठाकुरपुरामा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा बाणगंगा, कपिलवस्तुको प्राविधिक सहयोग रहेको थियो ।
संगठनका महासचिव भिमलाल खनालका अनुसार संगठनमा आबद्ध १५ जनाले रक्तदान गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij