
सोमवार , श्रावण १९, २०८२
बुटवल, १९ साउन । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनी महिलाहरुले साधारण सभाको निर्णय सच्याउन माग गर्दै नेपाल राष्ट्र बैंकका गभर्नरसँग उजुरी गर्न पुगेका छन् । संस्थापक शेयरधनी महिलाहरुले सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले अख्तियारीको दुरुपयोग गरी सम्पन्न गरिएको साधारण सभाको निर्णय सच्याउन माग गर्दै गभर्नरसँग उजुरी गर्न पुगेका हुन्
संस्थापक शेयर सदस्य रहेका महिलाहरुले गत असार २८ गते सम्पन्न १० औं साधारण सभामा गरिएको निर्णय, आफूहरुमाथि गरिएको दुव्र्यवहार र अपमानकाविरुद्ध आन्दोलन गर्दै आएका छन् । साधारण सभा परिसरमा भाडाका गुण्डा र हातहतियारसहितका प्रहरी परिचालन गरी सभाहल प्रबवशमा रोक लगाउँदा आफूहरुलाई घोर अन्याय र शेयर सदस्यहरुको अवहेलना भएको उहाँहरुको भनाइ छ ।
विगतमा महिलाहरुको बैंक भनेर चिनिएको यो ग्रामीण लघुवित्तमा सञ्चालक समितिमा कुनै पनि महिला सदस्य नराखिनु, साधारण सभामा संस्थापक शेयर सदस्यहरुलाई खबर नगरिनु, संस्थाले थेग्नै नसक्ने गरी आर्थिक भार पार्नु आदि कारणले संस्था धरासायी भएको र राष्ट्र बैंकसमक्ष संस्थालाई बचाइदिन माग समेत गरेको संस्थापक शेयर सदस्य मिना भट्टराईले बताउनुभयो । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई भेटेर शेयरधनी महिलाहरुले संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले आफूहरुमाथि अन्याय गरेको भन्दै आवश्यक छानबीन र कडा कारवाहीको माग गरेका हुन् ।
सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतले संस्थापक शेयरधनी महिलाहरुलाई गुमराहमा पारेर साधारणसभा गरेको, सभास्थल पटकपटक फेरेको, सभाहलमा पुगेका शेयरधनी महिलाहरुलाई दुव्र्यवहार र अपमान गरिएको र समस्त शेयरधनी, कर्मचारी र ग्राहकहरुको हितविपरीत मर्जरको निर्णय भएकोले आन्दोलनको कदम चाल्न बाध्य भएको उनीहरुले बताएका छन् ।
गभर्नर पौडेललाई ज्ञापनपत्र बुझाउँदै पीडित शेयरधनीहरुले सञ्चालक समिति र प्रमुख कार्यकारी कटुवालका कारण आफूहरु पीडित भएको र उनीहरुउपर छानबीन र कारवाहीको आग्रह गर्दै मर्जरको निर्णय खारेजीको माग गरेका छन् ।
यसअघि पीडित शेयरधनीहरुले संस्थाको प्रधान कार्यालय बुटवलमा पुगेर प्रमुख कार्यकारी अधिकृत कटुवाललाई ध्यानाकर्षण गराएका थिए । लगत्तै राष्ट्र बैंक क्षेत्रीय कार्यालय भैरहवा पुगेर ध्यानाकर्षण पत्र बुझाएका पीडित शेयरधनी महिलाहरुले यहाँबाट पनि कुनै सुनुवाई नभएको भन्दै राष्ट्र बैंकको केन्द्रिय कार्यालय पुगेका हुन ।
ज्ञापनपत्रमा तोक लगाउँदै गभर्नर पौडेलले आवश्यक छानबीन गरी दोषी ठहर भएमा कारवाही गरिने आश्वासन् दिनुभएको संस्थापक शेयरधनी महिला सदस्य कल्पना शाक्यले बताउनु भयो । विभिन्न खालका जालझेल र छलछाम गरी राष्ट्रियस्तरको लघुबित्त संस्थालाई ३ जिल्ला कार्यक्षेत्र भएको सानो संस्थासँग मर्ज गर्ने निर्णय सान्दर्भिक नभएकोले तत्काल खारेज गर्न माग गर्दै शेयरधनी महिलाहरुले सञ्चालक समितिलाई पनि ध्यानाकर्षण–पत्र बुझाएका छन् ।
शेयरधनी महिलाहरुले सर्लाहीको मलंगवास्थित समाज लघुवित्त वित्तीय संस्था लि.सँग गाभ्ने साधारण सभाको निर्णय उचित कारण नदेखिएको भन्दै तत्काल खारेज गर्न अपील गरेका हुन् । ज्ञापनपत्र बुझाउँदै संस्थापक महिला शेयरधनी तथा पूर्व सञ्चालक जमुना ढकालले सञ्चालक समितिले छलछाम र जालसाजी गरी अन्यायपुर्ण ढंगले साधारण सभा गरेको बताउनुभयो । अधिकांश महिला शेयरधनीहरुको भावनामाथि खेलवाड गरी अन्यायपूर्ण निर्णय गरेको जानकारी गराउँदै लुम्बिनी प्रदेशसभा सदस्यसमेत रहनुभएकी ढकालले कथित साधारण सभाको निर्णय तत्काल सच्याउन माग गर्दै आउनुभएको छ ।
ढकालले भन्नुभयो–‘हामी राष्ट्र बैंकको मर्जर प्रक्रियाको विरोधी होइनौ । तर, समान हैसियतको बंैक वा वित्तीय संस्थासँग मर्जर गरिनुपर्ने, आफ्नो निजी स्वार्थका लागि सो मर्जर प्रक्रिया गर्न खोजिएको प्रष्ट देखिन्छ ।’
यही भदौ ५ सकिदै गरेको सञ्चालक समितिको समयावधि र आफ्नो समयावधि स्वतः थप गर्नका लागि मात्र मर्जर गर्न खोजिएको हो, यो संस्थाको हितमा नभएको पूर्व सञ्चालक ढकालले जोड दिनुभयो । नेपाल राष्ट्र बैंकले सिईओ कटुवाललाई आफ्नो कार्यशैली सच्याउन भन्दै पटकपटक नैसियत पत्र पठाइ कारबाही गरेको जानकारी गराउदै ढकालले यस्तो व्यक्तिलाई संस्थाको जिम्मा लगाउन नहुने धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो–‘पटकपटक स्थान परिवर्तन गरेर, अधिकांश महिला शेयरधनी र कर्मचारीहरुलाई गुमराहमा पारेर गर्न खोजेको के हो ? एकातिर बोलाएर एकातिर साधारण सभा गर्ने, प्रवेशका लागि छुट्टै पासको व्यवस्था गरेर झुक्याउने, १० हजार भन्दा बढी शेयर सदस्य भएको संस्थाको साधारण सभा होटलको पाँचौं तलामा १०/१५ जना बसेर गर्ने ? यो सरासर गलत हो, निर्णय सच्याउनुपर्छ ।’ शेयरधनी ढकालले आफुहरुको माग सुनुवाइ नभए कडा आन्दोलनमा जाने चेतावनी समेत दिनुभएको छ ।
शेयरधनी महिला पुनम लिगलले भन्नुभयो–‘नेपाल राष्ट्र बैंकलाई समेत गुमराहमा पारेर गरिएको सामान्य एउटा वित्तीय संस्थाको साधारण सभामा हातहतियार गोलीगट्टासहितका प्रहरीहरु तैनाथ गरेर, संस्थासँग असम्बन्धित व्यक्तिहरु भाडामा ल्याएर गुण्डागर्दी शैलीमा सभास्थललाई घेराबन्दी गरेर, कर्मचारी र शेयरधनीहरुलाई प्रवेशमा रोक लगाएर के गर्न खोजिएको हो ?’ सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतमाथि तत्काल छानविन गरि कारबाही उहाँले माग गर्नुभएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत कटुवालले हालै ५५० जना कर्मचारी नियुक्ति गर्दा गैरकानुनी र अपारदर्शी ढंगले भर्ना गरेको, महंगा गाडी खरिद गरेको लगायतका विषयमा छानबीन हुनुपर्ने पनि माग गर्नुभएको छ ।
संस्थाको सञ्चालक समितिको बैठक केन्द्रिय कार्यालय बुटवलमा नगरी काठमाडौंका तारे होटेलहरुमा गर्ने, प्रमुख कार्यकारी अधिकृत काठमाडौं जाँदा आफू जहाजबाट जाने र गाडी सडक मार्गबाट पठाउने गरेको लगायथ संस्थाको हितविपरीत आर्थिक अपचलन गरेको, तत्काल मर्जर नगरे संस्थालाई पिसिए लाग्छ भन्दै धम्काउने गरेको आरोप पनि लगाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij