२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती रोगको उपचारका लागि ल्याप्रोस्कोपी विधिको प्रयोग बढ्दो

मंगलवार , श्रावण २०, २०८२

बुटवल, २० साउन । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा प्रसुती सेवाको विशिष्टीकृतसँगै उपचार सेवामा ल्याप्रोस्कोपी विधिको प्रयोग बढ्दै गएको छ ।  अस्पतालमा प्रसुती सेवाका लागि छुट्टै भवन तथा छुट्टै शल्यक्रिया कक्ष विस्तारपछि उपचार सेवा थप प्रभावकारी बन्दै गएको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. इन्द्र ढकालले दावी गर्नुभयो । 

यसैबीच अस्पतालमा ल्याप्रोस्कोपी अर्थात दूरविन विधिबाट उपचार सेवा अन्तरगत एक्टोपिक प्रेग्नेन्सी शल्यक्रिया सफल भएको छ । सामान्यता महिलाको गर्भ रहँदा भ्रूण  गर्भाशय भित्र बस्न जान्छ र त्यही विकास हुने गर्दछ । तर, एक्टोपिक गर्भावस्थामा भ्रूण गर्भाशय बाहिर, प्रायः फ्यालोपियन ट्युबमा विकास हुन थाल्छ । कहिलेकाहीं यो अण्डाशय पेटको भित्तो वा गर्भाशयमा बस्न जाने हुँदा महिलालाई अत्यन्त जोखिम हुने गर्छ । डा. बबिता थापाका अनुसार एक्टोपिक प्रेग्नेन्सी जीवनको लागि खतरनाक हुन सक्छ किनकि भ्रूण ट्युब वा अन्य अंगमा बढ्न सक्दैन र त्यो स्थान चुँडिएर आन्तरिक रक्तस्राव हुन सक्छ । यसले महिलाको ज्यान पनि जान सक्छ । उक्त समस्याका लागि एक्टोपिक प्रेग्नेन्सी शल्यक्रिया गर्ने गरिन्छ । 

पछिल्लो समय यस विधिलाई अत्यन्त भरपर्दो एवं आधुनिक विकास पद्दतिको प्रविधिको रुपमा लिने गरिएको छ । यस किसिमको प्रविधिबाट शल्यक्रिया गर्दा बिरामीलाई धेरै चिरफार गर्न नपर्ने रक्तश्रापको जोखिम अत्यन्त कम हुने साथै बिरामी पनि छिटो निको हुने हुँदा यो सबै कुराबाट अत्यन्त भरपर्दो रहेको चिकित्सकहरु बताउँछन् । 

अस्पतालका प्रसुती विभाग प्रमुख वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भक्तवत्सल राउतको नेतृत्वमा महिलाको शल्यक्रिया सफल भएको हो । शल्यक्रियाका लागि अस्पतालका डा. अनुपमा केसी, डा. बबिता थापा, डा. सीमा राना तथा एनेस्थेसिया कन्सल्टेन्स डा. समीर आचार्य सहभागी हुनुभएको थियो ।

अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. इन्द्र ढकालले प्रसुती सेवाबाहेक अन्य क्षेत्रमा समेत सेवा विशिष्टीकृत गर्ने अभियान रहेको बताउनुभयो । लुम्बिनी प्रदेशमा मातृ तथा शिशु मृत्युदर अन्य प्रदेशमा भन्दा बढी रहेको बताउँदै उहाँले त्यसलाई कम गर्नका लागि अस्पतालले सेवा विस्तारलाई जोड दिएको बताउनुभयो । 

अस्पतालमा छुट्टै भवनबाट प्रसुती सेवा तथा शल्यक्रिया सेवा उपलब्ध गराउन सुरु गरेपछि सेवाग्राहीलाई थप सहज भएको मेसु ढकालले बताउनुभयो । मेसु ढकालले आफू आएपछि सेवा विशिष्टीकृतसँगै अनलाइन टिकेटिङ, महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारका लागि म्यामोग्राफी सेवा सञ्चालन, ब्रेस्ट क्लिनिक स्थापना,  स्वचालित ल्याब रिपोर्ट डिस्प्याच मेशिन जडान, फार्मेसी काउन्टर वृद्धि लगायतका सेवा विस्तार गरिएको बताउनुभयो । 

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सेवा वबस्तारसँगै गुणस्तीय र सहजताका लागि पनि जोड दिइएको बताउनुभयो । उहाँले अस्पतालमा भौतिक संरचनाहरु समेत थप गर्ने क्रम जारी रहेको जानकारी गराउँदै छिट्टै मेडिकल वार्डमा बेड संख्या थप गरी ९० पुर्याउने तथा आईसीयू बेड संख्यालाई समेत विस्तार गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।