
शुक्रवार , श्रावण २३, २०८२
बुटवल, २३ साउन । रुपन्देहीको बुटवल उपमहानगरपालिका– १० कालिकानगरमा रहेको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा कक्षा १२ उत्र्तीण गरेका सम्पूर्ण विद्यार्थीहरुलाई बधाई शुभकामना तथा विदाई कार्यक्रम गरिएको छ ।
हालै मात्रै सार्वजनिक भएको कक्षा १२ को परीक्षामा सामूदायिक विद्यालयतर्फ देशमै सबैभन्दा बढी विद्यार्थी उत्र्तीण गराउन सफल विद्यालयले उत्कृष्ट नतिजा ल्याउने शिक्षकहरुलाई समेत सम्मान गरेको छ ।
शुक्रबार बुटवल–१० रामनगरमा रहेको बुटवल कालिका क्याम्पस सभाहलमा आयोजना गरिएको कक्षा १२ को परीक्षामा उत्कृष्ट जीपीए ल्याउनसहित सम्पूर्ण विद्यार्थीलाई बधाईसहित सम्मान गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश कार्यालय प्रमुख रमाकान्त तिवारीको प्रमुख आतिथ्यता, वडा नम्बर १० का अध्यक्ष बल बहादुर पुन, विद्यालयका प्रमुख शैक्षिक सल्लाहकार तथा पूर्वप्रधानाध्यापक, बुटवल कालिका क्याम्पसका क्याम्प प्रमुख घनश्याम पाठक, अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिवारीले रुपन्देहीले देशकै शैक्षिक नेतृत्व गर्ने ल्याकत राख्न सफल भएको बताउनुभयो । उहाँले उच्च शिक्षाको लागि स्वदेशमा नै विभिन्न अवसरहरु रहेको भन्दै उच्च शिक्षाको लागि स्वदेश रोज्नुपर्ने धारणा राख्नभुयो ।
बुटवल कालिका क्याम्पसका प्रमुख तथा कालिका मानवज्ञान माविका सल्लाहकार समिति संयोजक घनश्याम पाठकले विद्यार्थीहको मिहिनेत, शिक्षक तथा कर्मचारी र अभिभावकको परिश्रमबाट अहिलेको नतिजा आएको भन्दै यसको लागि सबै बधाई पात्र भएको बताउनुभयो ।
विद्यालयका शिक्षक–अभिभावक संघका अध्यक्ष केशवराज पोखरेलको स्वागतमा भएको कार्यक्रममा विद्यालयका प्राचार्य दिनेश थापाले करिब ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल कालिका मानवज्ञान माविका कर्मठ शिक्षकहरूलाई धन्यवादसहित विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिनुभयो ।
कार्यक्रममा विद्यालयका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार समिति सदस्य साथै बुटवल कालिका क्याम्पसका अध्यक्ष होमबहादुर गलामी लगायतले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक विवेकराज पोख्रेलको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न साँस्कृतिक प्रस्तुति, गायन, नृत्य र कवितावाचन समेत गरेका थिए ।
कार्यक्रममा ३.९ जीपीए भन्दामाथि ल्याउने १० जना विद्यार्थीहरु र विभिन्न समूहमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो । साथै कक्षा १२ उत्तीर्ण सबै विद्यार्थीहरूलाई बधाई तथा उज्जवल भविष्यको शुभकामनासहित सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा कक्षा १२ मा शतप्रतिशत नतिजा ल्याउने शिक्षकहरु, समूहगत इञ्चार्जहरुलाई समेत विशेष सम्मान गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक विवेकराज पोखरेलले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij