
शनिवार , श्रावण २४, २०८२
बुटवल, २४ साउन । बैदिक जनै र शास्त्रीय धागो बेचेर पनि लाखौं कमाउन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ राधा धागो उद्योग बुटवल, रुपन्देहीका सञ्चालक बुद्धिप्रसाद शर्मा । आधुनिकता र पश्चिमा शैलीको तीव्र चाप बढिरहेको अवस्थामा पनि शर्माले बैदिक जनै, रक्षाबन्धन, शास्त्रीय धागो आदि बेचेर वार्षिक ४० लाखसम्म आम्दानी हुने गरेको बताउनुहुन्छ ।
बैदिक र शास्त्रीय सामाग्री उत्पादन गरेर नेपाल र विदेशमा समेत बजार प्रबद्र्धन गर्न सफल शर्माले ४० जनालाई प्रत्यक्ष र करिब ४ सय जनालाई अप्रत्यक्ष रोजगारी प्रदान गर्नुभएको छ । नेपाली बजारमा नक्कली र गुणस्तरहीन जनैधागो, रक्षाबन्धन र लक्षवत्र्ती आदिको बिगबिगी देखेपछि वि.सं. २०५८ सालमा शास्त्रीय, बैदिक र पवित्र सामाग्री उत्पादन गर्ने उद्देश्यले राधा धागो उद्योग स्थापना गरियो ।
बुटवल उपमहानगरपालिका–४ स्थित राममन्दिर लाईनमा स्थापना भएको सो उद्योगले शास्त्रीय र बैदिक विधिबाट जनै, रक्षाबन्धन, लाखवत्ती, अनन्त डोरो आदि उत्पादन गर्न थालेपछि बजारमा यसको माग बढ्दै गयो ।
उद्योगका सञ्चालक पं बुद्धिप्रसाद शर्मालाई अहिले बजारको माग पुरा गर्न हम्मेहम्मे परेको छ । शर्मा भन्नुहुन्छ–‘पहिले निकै कठिन थियो, हाम्रो उत्पादनप्रति विश्वास जगाउन धेरै मेहनत गर्नुपर्यो ।’ अहिलेको उत्पादनले बजारको मागलाई धान्न नसकेको शर्माको भनाइ छ ।
वार्षिक करिब १ करोड ५० लाखको रक्षाबन्धन र जनै धागोको कारोबार हुने पश्चिम नेपालमा ६० प्रतिशत बजार भाग राधा जनै धागो उद्योगले मात्रै ओगट्न सफल भएको शर्माले बताउनुभयो । उद्योगले जनै धागो उत्पादनमा आत्मनिर्भर बनाउनुका साथै भारतीय उत्पादनको आयात कम गर्न ठूलो सहयोग गरेको स्थानीय जनै धागो व्यापारी नुरु प्रसाद पाण्डे बताउनुहुन्छ । पाण्डेका अनुसार आयात क्रमशः घटदै गैरहेकोले नेपाली धागो उद्योगीहरु उत्साहित भएका छन् । पाण्डे भन्नुहुन्छ-‘अरु थप उद्योगहरु पनि आइरहेका छन् । अब गुणस्तरमा प्रतिष्पर्धा छ । नक्कली र सस्ता सामाग्रीहरु हराउँदैछन् । सक्कलीसँग अब गुणस्तरमा प्रतिष्पर्धा हुन्छ ।’
नेपालमा मात्र नभइ भारत, बंगलादेश, अमेरिका, जर्मन लगायतका देशमा समेत राधा जनैधागो उद्योगमा उत्पादित सामाग्रीहरु पुग्ने गरेको अर्का व्यवसायी झन्कार पाण्डेको भनाइ छ । भारतबाट नेपालमा आयात हुने जनैधागो लगायतका पूजा सामग्रीहरु समेत नेपालमै उत्पादन गरी नेपाललाई बैदिक जनै, शास्त्रीय रक्षाबन्धन लगायतका विभिन्न पूजा सामग्रीमा समेत आत्मनिर्भर बनाउने लक्ष्य रहेको पाण्डले बताउनुभयो । नक्कली वस्तुसँग धेरै लामो लडाईं लड्नु परेको भए पनि बजार क्रमशः सुधार हुँदै गएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नहुन्छ–‘सक्कली प्रयोग गर्नुहोस् नक्कलीदेखि सावधान रहनुहोस् ।’
जनै, रक्षाबन्धन, शास्त्रीय धागो आदि उत्पादन गर्दा सप्तऋषिलाई तर्पण दिई प्रत्येक डोरामा हुने नौ सराका तन्तुदेवताहरु र शिखामा ब्रह्मा, विष्णु, महेश्वर र जगत्जननीको पूजा गरी गायत्री मन्त्रद्वारा मन्त्रित गरिन्छ । स्वदेशमै पवित्र जनै धागो र रक्षाबन्धन उत्पादन हुने, रोजगारीको अवसर समेत सिर्जना हुने भएकोले आफू अग्रसर भएको बताउँदै पं बुद्धि प्रसाद शर्माले हाल ४० जनालाई पूर्णकालिन र झण्डै ४ सय जनालाई अल्पकालिन रोजगारी प्रदान गर्न सफल भएको जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij