
आइतवार , श्रावण २५, २०८२
बुटवल, २५ साउन । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीको आयोजनामा ‘Hypershow बजेट, मौद्रिक र आर्थिक नीति’ विषयमा एकदिने कार्यक्रम रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । युवा उद्यमीहरूका लागि नीति, बजेट र मौद्रिक व्यवस्थापन सम्बन्धी ज्ञान साझा गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले प्रदेशका उद्यमी तथा सरोकारवालाहरूको ध्यानाकर्षण गरेको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले बजेट तथा मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि योजना र रणनीतिमा समन्वय आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै नेपाल राष्ट्र बैंकका उपनिर्देशक जीवन प्रकाश पाण्डेले मौद्रिक नीतिका विभिन्न आयाम र त्यसले अर्थतन्त्रमा पार्ने प्रभावबारे जानकारी गराउनुभयो ।
आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेल, भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मी र आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत हरि बस्यालले कर र भन्सार नीतिको समसामयिक अवस्थाबारे छलफल गर्नुभएको थियो । सहभागीहरूले प्रस्तुत गरेका प्रश्नहरूलाई जवाफ दिने क्रममा विषयवस्तुलाई अझ स्पष्ट बनाइएको थियो ।
नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बाबुराम बोहोरा, रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष कृष्ण प्रसाद सापकोटा, लर्निङ चेयर (सीएनआईवाईएफ) लुम्बिनीका विकास पाण्डे लगाय धेरै उद्यमी र प्रतिनिधिहरूले कार्यक्रममा सहभागीता जनाएका थिए ।
लुम्बिनी मञ्चका अध्यक्ष राजन कसजुको अध्यक्षता तथा विकास पाण्डेको स्वागतमा कार्यक्रम भएको थियो । कार्यक्रमले प्रदेशका युवा उद्यमीहरूलाई बजेट, मौद्रिक नीति र आर्थिक नीतिको ज्ञान प्रदान गर्दै उद्यमशीलता प्रवद्र्धनमा नयाँ दृष्टिकोण थपेको आयोजकले बताएका छन् । यस प्रकारका कार्यक्रमहरूले प्रदेशको आर्थिक विकास र स्थानीय उद्यमशीलताको सशक्तिकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij