२०८२, श्रावण २६ गते

Aug 11 2025 | २०८२, श्रावण २६ गते

आज साउनको अन्तिम सोमवार

सोमवार , श्रावण २६, २०८२

भैरहवा, २६ साउन ।साउनको अन्तिम सोमवार आज देशभरका शिवालयमा भक्तजनहरुको भीड लागेको छ ।

आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तालु जनहरुको पूजा, अर्चनाका लागि भीड लागेको हो।पाल्पाको सिद्धबाबा मन्दिरमा बिहानै देखि भक्तजनहरुको उल्लेख्य भीड छ । साउन महिना विशेष गरेर आशुतोष भगवान महादेवको प्रिय महिना भएकोले साउनको सोमवार विशेष पूजा आराधना गरिन्छ ।

सोमवारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रही आएको छ । यो वर्ष साउनमा ४ वटा सोमवार परेका थिए । हरिशयनी एकादशी अर्थात आषाढ शुक्ल एकादशीमा भगवान विष्णु क्षीर सागरमा सुतेपछि हरिबोधिनी एकादशीसम्म भगवान शिवले श्रृष्टि सञ्चालनको जिम्मा लिने शास्त्रोक्त कथन छ । सात्विक खानपान र हरियाली चुरा पोते जस्ता सौभाग्यको साथमा साउनको सोमवारको व्रत बसेर मनाइएको छ ।

सूर्य दक्षिणायनपछि विशेष चार्डपर्वको शुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमवार आफैँमा विशेष महत्वको महिना हो । पार्वतीले साउन महिनाभर निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको शास्त्रमा वर्णित भएकोले महिलाहरूले यसलाई बढी महत्व दिन्छन् । महिनाको अरू दिन नसके पनि सोमवार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । साउने सोमवारका दिन भगवान शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ ।

ज्योतिष शास्त्रानुसार सोमवारको स्वामी भगवान शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । अझ साउन महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ । यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एवं विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ ।

साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ ।