२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

भारतको स्वतन्त्रता दिवसको अवसरमा शुभकामना आदानप्रदान

शनिवार , श्रावण ३१, २०८२

  • 331
    Shares
  • 331
    Shares
  • भैरहवा, ३१ साउन । भारतको ७९ औं स्वतन्त्रता दिवसको अवसरमा रुपन्देहीको भैरहवामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल भारत मैत्री संघ जिल्ला शाखा रुपन्देही र संघकै बेलहिया उपशाखाको संयुक्त आयोजना शुक्रबार नेपाल र भारतका प्रतिनिधिबीच शुभकामना आदानप्रदान गरिएको हो । 

    कार्यक्रममा दुवै देशका प्रतिनिधिहरूले नेपाल र भारतबीचको वर्षौंदेखिको सामाजिक, साँस्कृतिक, र ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँहरूले स्वतन्त्रता दिवसले दुवै देशका जनतालाई आपसी सद्भाव र मित्रता कायम राख्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । यस किसिमका कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै जनता–जनताबीचको सम्बन्धलाई पनि बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने कार्यक्रमका सहभागीहरूले भनाइ थियो ।

    कार्यक्रममा बोल्दै नेपाल भारत संघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष वासुदेव रिमालले ७० वर्षभन्दा बढीको इतिहास भएको नेपाल भारत मैत्री संघले दुई देशका जनताबीचको युगौंदेखिको सम्बन्धलाई जतन गर्न र सुदृढ पार्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले मैत्री संघले नेपालभर तल्लो तहमा विशेष गरी जनतादेखि जनतासम्मको स्तरमा मित्रताको सन्देशलाई प्रवद्र्धन गरी पारस्परिक समझदारी र सद्भावनालाई अगाडि बढाउन अमूल्य योगदान पुर्याएको बताउनुभयो । रिमालले नेपाल र भारत छुट्टाछुट्टै छूट सार्वभौमसत्ता सम्पन्न राष्ट्र भए पनि दुवै देश साँस्कृतिक, वैदिक, पौराणिक र दार्शनिक रूपमा समान पृष्ठभूमि र आधार बोकेका मुलुक भएको जिकिर गर्नुभयो ।

    त्यस्तै नेपाल भारत मैत्री संघ रुपन्देही शाखाका अध्यक्ष श्रीचन्द गुप्ताले आदिमकालदेखि नै चाहे त्यो राम र जानकीको रूपमा होस् वा गौतमबुद्धको मार्गदर्शनको स्वरूप, चाहे ज्ञान प्राप्तिको विषय होस् वा बौद्धिक आदानप्रदानको विषय, जसले गर्दा आजसम्म पनि दुई देशबीच सुमधुर सम्बन्ध कायम रही आएको बताउनुभयो । उहाँले हिमालय र गंगा तथा पशुपति र तिरूपतिजस्ता प्राकृतिक–धार्मिक विम्ब र प्रतीकका आधारमा व्याख्या गरिने र सामाजिक–साँस्कृतिक दृष्टिले घनिष्ठ मानिने नेपाल–भारत परम्परागत सम्बन्धहरुलाई अझै घनिभूत रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।

    संघका पूर्व केन्द्रीय अध्यक्ष एवम केन्द्रिय सल्लाहकार मुरारीलाल अग्रवालले नेपाल–भारत सम्बन्धको विकल्प भनेकै आपसी सद्भाव, सह–अस्तित्व र समझदारीमा आधारित असल नेपाल–भारत सम्बन्ध नै रहेको बताउनुभयो । आपसी हित, समझदारी र सदभावको जगेर्ना तथा संवद्र्धन र संरक्षण गरी एकीकृत विकासको दीर्घ सोचसहितको मूल लक्ष्य लिएर घनिभूत सम्बन्ध स्थापना नै आजको प्रमख माग रहेको उहाँको जिकिर थियो । 

    नेपाल भारत मैत्री संघका सचिव मधुसुदन खनालको सञ्चालन र पुनम अग्रवालको स्वागतमा सम्पन्न भएको शुभकामना आदानप्रदान कार्यक्रममा संघला केन्द्रिय सदस्य एजाज वारिस, मोहनराज शर्मा, बेलहिया उपशाखाका अध्यक्ष पशुपति कान्दु, मणिग्राम उपशाखाका अध्यक्ष डोलराज पाण्डे, धकधई उपशाखाका अध्यक्ष बेचन गुप्ता, भैरहवा नमूना माविका प्राचार्य बासुदेव पौडेल, बेलहिया माविका प्रधानाध्यापक बीना भण्डारी, संघका जिल्ला कोषाध्यक्ष नलिन शर्मा, भारततर्फका वरिष्ठ उपाध्यक्ष राजु गुप्ता लगायतले बोलेका थिए । कार्यक्रममा संघका नवनिर्वाचित केन्द्रिय सदस्यलाइ स्वागत गर्नुका साथै भैरहवा नमुना मावि र बेलहिया माविका विद्यार्थीहरुका लागि शैक्षिक सामग्री समेत वितरण गरिएको थियो ।