२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

रास्वपाबाट उम्मेदवारको आकांक्षी पौड्यालको दावी : टिकट पाए निर्वाचन जित्छु

आइतवार , भाद्र १, २०८२

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, १ भदौ । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि विभिन्न राजनीतिक दलले तयारी थालेका छन् । हाल प्रतिपक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यो उपनिर्वाचनलाई आफ्नो प्रतिष्ठाको विषय बनाएको छ । उक्त पार्टीले नतिजा आफ्नो पक्षमा पार्न तयारीलाई तीव्रता दिएको छ ।

    उपनिर्वाचनका लागि रास्वपाबाट ९ जना उम्मेदवारका लागि आकांक्षी हुनुहुन्छ । तीमध्ये हुनुहुन्छ सिद्धार्थनगर नगरपालिका–८ निवासी ज्ञानु पौड्याल । विगत तीन दशक बढी समयदेखि उहाँ सामाजिक कार्यमा क्रियाशील हुनुहुन्छ । उहाँले थुप्रै संघ–संस्थाको नेतृत्व गरिसक्नुभएको छ । 

    उहाँ नमूना एकीकृत विकास परिषद्को संस्थापक अध्यक्ष हुनुहुन्छ । विगत लामो समयदेखि पौड्यालले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आउनुभएको छ । उहाँले स्थानीय शान्ति समिति, जनउत्थान बचत तथा सहकारी संस्था लि.को अध्यक्ष भइ आफ्नो जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । उहाँ ईनरव्हील क्लब अफ लुम्बिनीको संस्थापक अध्यक्ष र चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को सल्लाहकार समेत हुनुहुन्छ । लकडाउनको समयमा जनउत्थान सहकारीले कृषि एम्बुलेन्स सञ्चालन गरेको थियो । जनउत्थान नेपालकै उत्कृष्ट सहकारी संस्थाको रुपमा परिचित छ । यो सहकारीमा ४० हजार बढी शेयर सदस्यहरु हुनुहुन्छ । यसले दक्षिण एसियाको एक्सेस सिल्भर ब्राण्ड पनि पाइसकेको छ । मानिसलाई लकडाउनमा घरबाहिर निस्कन समस्या भएको बेला पौड्यालको नेतृत्वमा घरघरमै नेपालकै उत्पादित तरकारी सुपथ मूल्यमा उपलब्ध गराइएको थियो । 

    उहाँले रास्वपाबाट उम्मेदवार भए आफ्नो जीत सुनिश्चित रहेको दावी गर्नुभयो । रुपन्देही क्षेत्र नम्बर ३ ले महिला नेतृत्व चाहेको उहाँको भनाइ छ । ‘अब विकासको कुलो हामीले कसरी फर्काउन सक्छौं, त्यसको अवधारण, सोच भएकाले म उम्मेदवार बन्ने खोजेको हुँ, रुपन्देही जिल्लामा विगत लामो समयदेखि सामाजिक, सहकारी क्षेत्रमा काम गरेर अनुभव बटुलेको छु, यहाँका जनतासँग एकदमै जोडिएर काम गरेकाले यहाँका आवश्यकता र मुद्दाबारे मलाई थाहा छ, ’उहाँले भन्नुभयो ।

    आफ्नो अनुभवलाई संगालेर स्थानीय मुद्दालाई राष्ट्रियकरणका लागि नीति बनाउन सकियो भने जनताका लागि काम गर्न सकिने उहाँको धारणा छ । ‘रुपन्देही–३ मा मिश्रित समुदाय छ, मैले जनतासँग प्रत्यक्ष जोडिएर काम गरेको छु, पछाडी परेका समुदायलाई कसरी अगाडि ल्याउन सकिन्छ भन्नेतर्फ नै मेरो ध्यान हुनेछ, ’पौड्यालले भन्नुभन्यो । उहाँले रुपन्देही–३ धेरै सम्भावना बोकेको ठाउँ भएको र नीति बनाउने ठाउँमा पुगे बहस गर्न र जनताको माग पूरा गराउन सकिने बताउनुभयो । उहाँले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आफ्नोतर्फबाट पहल गर्ने बताउनुभयो । 

    WhatsApp Image 2025-08-17 at 1.06.46 PM.jpeg

    सामाजिक जनसम्बन्ध र सहकार्य, सुरक्षित मातृत्व, न्यायमा पहुँचको लागि पैरवीका साथै आफूले गरेको सामाजिक कार्यले ल्याएको जागरण र सशक्तिकरण नै आफ्नो जीतको आधार भएको उहाँको भनाइ छ ।