
आइतवार , भाद्र १, २०८२
भैरहवा, १ भदौ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयले मदरसाका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । आइतबार दोगहरास्थित मदरसा कादरिया मिस्बाहुल ओलुममा अध्ययनरत १२३ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको वडा कार्यालयले जनाएको छ । साथै यहाँ कार्यरत ९ जना शिक्षक/कर्मचारीलाई पनि पोशाक वितरण गरिएको थियो ।
प्रत्येक वर्ष मदरसामा अध्ययनरत विद्यार्थीहरुलाई वडा कार्यालयले पोशाक उपलब्ध गराउँदै आएको वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले बताउनुभयो । ‘हामी जिम्मेवारीमा रहेसम्म हाम्रो टीमले यो मदरसामा कुनै प्रकारको अभाव हुन नदिने संकल्प लिएका छौं, आगामी दिनमा पनि यो मदरसालाई आवश्यक सहयोग गर्छौं, ’उहाँले भन्नुभयो ।
पोशाक वितरण कार्यक्रममा वडा सदस्य हरि बहादुर के.सी., सईद अहमद धुनिया, इन्द्रमती धोबी, मदरसाका अध्यक्ष अहमद हुसेन, प्रधानाध्यापक साज्मा खातुन, मौलाना जलालुद्दीन खाँ लगायतको उपस्थिति थियो।
मदरसा कादरिया मिस्बाहुल ओलुममा बाल विकासदेखि कक्षा ६ सम्म पठनपाठन हुन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij