२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

नक्कली शैक्षिक प्रमाणपत्रहरुसहित एक भारतीय युवक पक्राउ

सोमवार , भाद्र २, २०८२

  • 441
    Shares
  • 441
    Shares
  • भैरहवा, २ भदौ । नेपाल–भारतमा रहेको शैक्षिक संस्था तथा विश्वविद्यालयहरुको हजारौं नक्कली शैक्षिक प्रमाणपत्रहरु, स्टाम, होलोग्राम तथा स्टीकरहरुसहित एकजना भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । 
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित बसपार्कबाट भारतको जिल्ला कानपुर नौवस्ति बस्ने २५ वर्षिय अभिषेक यादवलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिनुभयो । 

    गोप्य सूचनाको आधाारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले होटल मुक्तिनाथभित्र प्रवेश गर्न लागेको अवस्थामा पक्राउ गरिएको उहाँले बताउनुभयो । अभिषेकलाई पक्राउ गरी उहाँको शरीर तथा उहाँले बोकेको सुडकेस समेत खानतलासी गर्दा शैक्षिक प्रमाणपत्रहरु जस्तो देखिने विभिन्न कागजपत्रहरु, स्ट्याम्प, होलोग्राम जस्तो देखिने स्टीकरहरु, ल्यापटप, नगद, इलेक्ट्रोनिक लगायतका सामानहरुसहित नियन्त्रणमा लिइएको डीएसपी कार्कीले बताउनुभयो । 

    प्रहरीका अनुसार अभिषेकको साथबाट त्रिभुवन विश्वविद्यालयका १ सय थान ट्रान्सक्रिप्ट र २६ थान सर्टिफिकेट, नम्बर स्ट्याम्प ३ थान, स्ट्याम्प प्याड ५ थान, होलोग्राम जस्तो देखिने विभिन्न विद्यालयका स्टीकरहरु, भारतका विभिन्न विश्वविद्यालयका मार्कसिट, सर्टिफिकेटहरु, बैंक सर्टिफिकेट, बैंक लोगो, लेटरप्याड, विभिन्न कार्यालयका स्ट्याम्प, ल्यापटप, आईफोन, मोबाइल, भारतीय र नेपाली रुपैयाँ, एटीएम कार्ड लगायत सामानहरु बरामद गरिएको हो ।

    IMG_0865.JPG

    सोमबार भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्रीले भारतबाट एकजनाले नक्कली सर्टिफिकेट लगायत सामान बोकेर आइरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा सर्टिफिकेटहरु फेला परेको बताउनुभयो । यसबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । ‘अभिषेक यादवले आफू मासिक तलब बुझेर काम गरिरहेको र यसअघि पनि पनि आफूले नक्कली सर्टिफिकेटहरु नेपाल ल्याएको बयानका क्रममा भन्नुभएको छ, ’एसपी क्षेत्रीले भन्नुभयो ।

    IMG_0856.JPG