२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ रुपन्देही–३ को अध्यक्षमा ठाकुर

सोमवार , भाद्र २, २०८२

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, २ भदौ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर ३, रुपन्देहीको प्रथम क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । सोमबार भैरहवामा सम्पन्न अधिवेशनले ठाकुर कुमार श्रेष्ठको अध्यक्षतामा क्षेत्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

    क्षेत्रीय उपाध्यक्षमा सुष्मा प्रधान, मनोहर राजभण्डारी, सचिवमा राकेश गुरुङ, खुम बहादुर घर्ती, सह-सचिवमा रिना पुन, कुल बहादुर राना र कोषाध्यक्षमा विनिता श्रेष्ठ रहनुभएको छ । त्यस्तै सदस्यहरुमा भिष्म रेश्मी मगर, टिका राना, द्रोपदी पुन, शशि राना, चन्द्र बहादुर पुन, इसिका चौधरी, गौरी थापा, गणेश दगामी, नरेश दंगोरिया र सुष्मा भुजेल घर्ती रहनुभएको छ ।

    नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफूलाई यो पदमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । उहाँले यो टीमले काँग्रेसलाई अझ बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले आदिवासी जनजाति नेपालको धर्तीपूत्र भएको बताउनुभयो ।

    अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले काँग्रेस बहुलवादमा आधारित विचारलाई मान्ने पार्टी भएको बताउनुभयो । उहाँले संसारमा एउटा मात्र जात र नेता नहुने बताउनुभयो ।‘ दुनियामा यस्ता भुभाग तथा देशहरु पनि छन्, जहाँ फरक मतलाई मान्यता दिइदैन, एकल भाषा र विचार, एउटै पार्टी, नीति र सिद्वान्त छ । तर, त्यो अप्राकृतिक विचार हो । सबैकौ आ–आफ्नो पहिचान छन्, त्यसलाई सम्मान गर्नुपर्छ, ’उहाँले भन्नुभयो ।

    IMG_0798.JPG

    नेता खाणले विविधतालाई प्रजातन्त्रले स्वीकार गर्ने र यो विविधताको व्यवस्थापन गर्नु नै राज्यको दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले सक्षम समुदाय, व्यक्ति, वर्गले असक्षमलाई साथसाथै लिएर हिंड्नुपर्ने र यो नै प्रजातान्त्रिक समाजवादकिो ठूलो आधारशिला भएको बताउनुभयो ।

    नेपालको राजनीतिक अवस्था अनुसार काँग्रेसले अन्य राजनीतिक दलको अभिभावकत्व लिनुपर्ने उहाँको भनाइ छ । खाणले काँग्रेस नभए नुन बिनाको तरकारी जस्तै हुने दावी गर्नुभयो । उहाँले महिलाले नेतृत्व लिएका ठाउँमा केही न केही रचनात्मक काम होस् भन्ने चाहना रहेको बताउनुभयो ।

    त्यस्तै विशिष्ट अतिथि नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष ओम बहादुर घर्ती मगरले काँगेस सरकारमा जाँदा आदिवासी जनजातिको हकहितमा धेरै काम भएको दावी गर्नुभयो । उहाँले आदिवासी जनजाति नेपालको गहना भएको बताउनुभयो ।

    काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले धर्तीपुत्र आदिवासी जनजातिको आफ्नै पहिचान भएको बताउनुभयो । उहाँले आफ्ना अधिकारका लागि संगठित हुनुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । 

    पार्टीका महासमिति सदस्य तथा महासंघको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण विभागका सदस्य छन्द बहादुर पहराईले काँग्रेसलाई अझ बलियो बनाउनुपर्ने र रुपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनमा काँग्रेसलाई नै जिताउनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा काँग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङ, सिद्धार्थनगरका सभापति कोशिष बहादुर खड्का, नेपाल मगर संघका केन्द्रीय सदस्य प्रेम कामु मगर, नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलिप भट्टराई, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ लगायतले बोल्नुभएको थियो । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य रुपमाया पुनको स्वागत तथा विनिता श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।