
बुधवार , भाद्र ४, २०८२
काठमाडौं, ४ भदौ । उपसभामुख इन्दिरा रानालाई हटाउन नेपाली काँग्रेस र नेकपा एमाले हस्ताक्षर संकलन गरेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले संसद र संवैधानिक निकायमाथि अपमान गरिरहेको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले सरकारको तर्फबाट नै सम्मनित संसद र लोकतन्त्रका लागि ठूलो खतरा भएको टिप्पणी गर्नुभयो ।
उहाँले बालुवाटार र सिंहदरबारमा भएको प्रदर्शनले सम्मानित सदनलाई आहत पारेको टिप्पणी समेत गर्नुभयो । लोकतन्त्रको बिरासत धानेका भन्नेहरूले उपसभामुख जस्तो जिम्मेवार पदमाथि गरेको अवमूल्यन लोकतन्त्रकै लागि सबैभन्दा ठूलो खतरा भएको उहाँको भनाइ छ ।
उहाँले नेपाली काँग्रेसलाई विपी कोईरालाको आदर्श स्मरण गर्न तथा एमालेका नेताहरूलाई सामन्तवादविरुद्ध मदन भण्डारीको दृष्टिकोण स्मरण गर्न आग्रह गर्नुभयो । उपसभामुखको पदमा रहेका जनजाति महिलाप्रति देखिएको असम्मानको आलोचना गर्दै सांसदहरूको विवेकलाई बन्धक नबनाउन चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हिजो बालुवाटार र सिंहदरबारमा जुन किसिमको प्रदर्शन भयो त्यसले सम्मानित सदनलाई चोट पुर्याएको छ सभामुख महोदय । लोकतन्त्रको विरासत धानेका भन्नेहरुले सम्मानित सदनको उपसभामुख जस्तो जिम्मेवार पदमाथि जुन तहको अपमूल्यन भएको छ यो लोकतन्त्रको लागि सबैभन्दा ठूलो खतरा हो भन्ने हाम्रो पार्टीको ठम्याई हो सभामुख महोदय । म भन्न चाहन्छु ।
लोकतन्त्र बचाउनको लागि हार्न तयार हुने विपी कोईरालालाई फर्केर हेर्नुस् काँग्रेसका नेताज्यूहरु । म कम्रेड मदन भण्डारीलाई सम्झन चाहन्छु । सामन्तवाद मात्रै होइन पार्टीभित्र हाबी हुने सामन्तवादले पनि हामीले उभो लाग्न दिँदैन भन्ने कम्रेड मदन भण्डारीलाई सम्झन म एमालेका नेताहरुलाई अनुरोध गर्न चाहन्छु ।
एउटा जनजाती महिलाको सम्मान होस् भनेर हामीले सदनमा भित्र्याएका हौं । उहाँले जति सम्मान पाउनु भएको छ तपाईहरु जति उफ्रे पनि त्यति माथि पुग्नुहुन्न भन्ने हाम्रो ठम्याई हो सभामुख महोदय । सांसदको विवेकलाई बन्दी नबनाउँ, सांसद आफैंमा सार्वभौम हो । आज राष्ट्रिय स्वतन्त्र पार्टीलाई निषेश गर्न खोजिदैछ ।
नयाँहरुलाई निषेध गर्न सकिदैन । समाज विज्ञानले प्रमाणित गरेको कुरा हो सभामुख महोदय । कार्यपालिको व्यवस्थापिकामाथिको निरन्तरको आक्रमण हामी कसरी टुलुटुलु हेर्नसक्छौं रु’
उहाँले कार्यपालिकाबाट व्यवस्थापिकामाथि भइरहेको निरन्तरको आक्रमण अब टुलुटुलु हेरेर नबस्ने चेतावनी समेत दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij