
बिहिवार , भाद्र ५, २०८२
काठमाडौं, ५ भदौ । मुलुकमा दुई ठूला दलहरुको नेतृत्वमा बनेको सरकार एक वर्षसम्म स्थिर रहँदा कर्मचारी प्रशासनमा भने चरम अस्थिरता देखिएको छ ।
यी सरकारका रुपमा मानिने कर्मचारी प्रशासनलाई वर्तमान सरकारले चरम रुपमा अस्थिर बनाएको पछिल्ला घटनाहरुले पुष्टी गरेका छन् । पछिल्लो एक सातामा मात्रै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने जिम्मेवारी पाएको अर्थ मन्त्रालयभित्र सरुवा आंतक चलेको छ ।
एक सातामै अर्थमन्त्रालय मातहतका उच्चपदस्थसहित ८० भन्दा बढी कर्मचारीहरुको सरुवा हुँदा कुन कर्मचारी कति बेला कहाँ पुग्ने हो भन्ने भयमा यतिबेला अर्थका अधिकारीहरु पुगेका छन् ।
अर्थमन्त्रालय मातहतका कर्मचारीको सरुवामा अर्थमन्त्री विष्णु पौडेलले व्यापक रुपमा ध्यान केन्द्रित गराउनुभएको छ । मन्त्रालय मातहतका १२ सहसचिवको जिम्मेवारी हेरफेर गरेको एक साता नबिन्दै पौडेलले ६८ जना उपसचिवको सरुवा गर्नुभएको छ ।
वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानालाई अर्थ मन्त्रालय तानेर उहाँको ठाउँमा काजीबाबु कोईरालालाई पठाइएको छ । कोईराला त्रिभूवन विमानस्थल भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतका रुपमा कार्यरत हुनुहुन्थ्यो । मन्त्री पौडेलले ढुंगानासहित विभिन्न कार्यालयका १३ जनालाई मन्त्रालयमा तान्नुभएको छ ।
मन्त्री पौडेलले साउन ३० गते भन्सार विभागका महानिर्देशकसहित एकदर्जन सहसचिवको जिम्मेवारी हेरफेर गर्नुभएको थियो । यो सरकार बनेको १ वर्ष पुग्दै गर्दा अर्थमन्त्री पौडेलले भन्सार विभागमा एक वर्षमा चार जना महानिर्देशक फेर्नुभएको थियो ।
मन्त्री पौडेलले आफैँले महानिर्देशक बनाएका महेश भट्टराईलाई ६ महिनामै हटाउनु भयो । भट्टराईलाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा सरुवा गरी उहाँको ठाउँमा अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको रुपमा कार्यरत श्याम भण्डारीलाई महानिर्देशक बनाउनुभएको छ ।
पौडेल २०८१ असार ३१ गते मन्त्री नियुक्त हुँदा विभागको महानिर्देशक ढुण्डीराज निरौला हुनुहुन्थ्यो । पौडेलले निरौलालाई एक महिनामै हटाउनुभएको थियो । निरौलालाई तत्कालिन अर्थमन्त्री वर्षमान पुनले २०८० चैत १९ गते महानिर्देशक बनाउनुभएको थियो । पौडेलले निरौलाको स्थानमा गत भदौ ६ गते हरिशरण पुडासैनीलाई महानिर्देशक बनाउनुभयो ।
तर पुडासैनीलाई पौडेलले ६ महिना पनि काम गर्न दिनुभएन । पुडासैनीको ठाउँमा फागुनमा भट्टराईलाई जिम्मेवारी दिइएको थियो । मन्त्री पौडेलका विश्वासपात्र मानिने भट्टराईको पनि ६ महिनामै सरुवा गरिएको छ । अहिले उनलाई मन्त्रालयमा तानिएको छ । भण्डारीलाई भन्सार विभागको महानिर्देशक बनाएका पौडेलले मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी टंकप्रसाद पाण्डेलाई दिनुभएको छ ।
भन्सार विभागका उपमहानिर्देशक जनकराज शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाउनुभएको छ । ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक रमेश अर्याललाई पनि मन्त्री पौडेलले आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेबारी दिनुभएको छ ।
अर्थमन्त्री पौडेलले सहसचिव भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गर्नुभएको छ भने सहसचिव टंकनाथ लम्साललाई त्रिभूवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।
वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरेर उनको ठाउँमा सहमहालेखा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीलाई सरुवा गरिएको छ । त्रिभूवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिलिपकुमार गौतमलाई ठूला करदाता कार्यालयमा सरुवा गरिएको छ ।
आन्तरिक राजश्व विभागका उपमहानिर्देशक पदमकुमार श्रेष्ठ मध्यमस्तरीय करदाता कार्यालय पुगेका छन् भने अर्थमन्त्री पौडेलले मन्त्रालयको बजेट महाशाखा प्रमुखको जिम्मेवारी सुमन दाहाललाई दिनुभएको छ । यसअघि यो महाशाखा प्रमुखमा श्रीकृष्ण नेपाल हुनुहुन्थ्यो ।
यसरी बजेट कार्यान्वयनको शुरुवातमै कर्मचारीतन्त्रमा अस्थीरता चरम रुपमा बढ्दा कार्यान्वयनमा धक्का पुग्ने खतरा बढेको छ । बरम्बार कर्मचारी हेरफेर हुँदा सरकारले लिएका लक्ष्य भेट्न कठिन हुने र बजेट, कार्यक्रम तथा योजनाहरु कार्यान्वयनमा समेत ठूलो असर पर्नसक्ने जानकारहरुको बुझाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij