
बिहिवार , भाद्र ५, २०८२
काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता सम्बन्धी सार्वजनिक लेखा समितिको प्रतिवेदन कार्यान्वयन नगर्दा भ्रष्टाचार संरक्षणमा सरकारकै संलग्नताको आशंका पुष्टि भएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद केसीले यस्तो आरोप लगाउनुभएको हो । उहाँले समितिको प्रतिवेदन कुनै व्यक्तिको निष्कर्ष नभई समितिको आधिकारिक निर्णय भएको भन्दै त्यसलाई बेवास्ता गर्नु संसदीय समितिको मर्यादामाथि प्रश्न उठाउने काम भएको बताउनु भयो ।
उहाँले समितिको प्रतिवेदनलाई नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले प्रमाणबिहीन र मनगढन्ते भनेर प्रतिवाद गरेकोप्रति पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले प्रतिवेदन कार्यान्वयनमा अख्तियार र सरकारले चासो नदिएको भन्दै आपत्ति समेत जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘सभामुख महोदय संसदीय समितिहरु बेवारिसे भएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिको प्रतिवेदन कुनै व्यक्तिको निष्कर्ष नभई समितिको आधिकारिक प्रतिवेदन हो । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले यसलाई प्रमाणबिहीन, हावादारी र मनगणन्ते भनेर प्रतिवाद गर्नुभएको छ ।
प्रतिवेदन सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यान्वयनको लागि पठाइयो तर दुवै निकायको मौनता र प्रतिवेदन कार्यान्वयन नहुनु दुःखद् र खेदजनक छ । यसले संसदीय समितिको मर्यादायमाथि प्रश्न उठाएको छ भने भ्रष्टाचार संरक्षणमा सरकारकै संलग्नताको आशंकाको पुष्टि गरेको छ । अख्तियारले सत्यतथ्य छानविन गरी यथार्थताको आधारमा कारबाही र निलम्वन प्रक्रिया शुरु गरोस् ।’
सांसद केसीले अख्तियारलाई सत्यतथ्यको आधारमा छानबिन गरी आवश्यक कारबाही र निलम्बन प्रक्रिया अघि बढाउन आग्रह गर्नुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी कन्स्ट्रक्शनको मिलेमतोमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का प्रक्रियादेखि निर्माणसम्म अर्बौं रुपैयाँ भ्रष्टाचार भएको संसदीय समितिको छानविन प्रतिवेदनमा उल्लेख छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij