
शुक्रवार , भाद्र ६, २०८२
काठमाडौं, ६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिशा नेपालीले भारत र चीनबीच हालै भएको सहमतिअनुसार लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने निर्णयबारे आपत्ति जनाउनुभएको छ ।
शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद नेपालीले यस्तो आपत्ति जनाउनुभएको हो । उहाँले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितमा अप्रत्यक्ष असर पार्ने यस्ता कुनैपनि निर्णयमा नेपाल सरकारलाई पूर्ण रुपमा उपेक्षा गर्दै एकतर्फी रुपमा लिइएको कदम लिइनु देशको सम्मान र स्वाधिनतामाथिको गम्भीर प्रहार भएको बताउनु भयो ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालका अविभाज्य अंग हुन् भन्ने ऐतिहासिक प्रमाण, नक्शा, सन्धी र सम्झौताहरुले स्पष्ट देखाउने बताउनु भयो । सांसद नेपालीले नेपालसँग छलफल नगरी दुई देशले व्यापारिक मार्ग खोल्ने सहमति गर्नु अन्तर्राष्ट्रिय कानून र कुटनैतिक मर्यादा विपरितको कार्य भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भारत र चीनबीच हालै भएको सहमतिअनुसार लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने निर्णयबारे राप्रपा गम्भीर आपत्ति जनाउँछ । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितमा अप्रत्यक्ष असर पार्ने यस्ता कुनैपनि निर्णयमा नेपाल सरकारलाई पूर्ण रुपमा उपेक्षा गर्दै एकतर्फी रुपमा लिइएको कदम हाम्रो देशको सम्मान र स्वाधिनतामाथिको गम्भीर प्रहार हो । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालका अविभाज्य अंग हुन् भन्ने ऐतिहासिक प्रमाण, नक्शा, सन्धी र सम्झौताहरुले स्पष्ट देखाउँछन् ।’
उहाँले नेपाल सरकारले तत्काल भारत र चीनसँग उच्चस्तरीय कुटनीतिक पहल गरी सहमति खारेज गर्न माग गर्नुभयो । नेपाली भूभाग र स्वाधिनतामाथि अतिक्रमण र उल्लंघन सह्य नहुने स्पष्ट सन्देश दिन सरकारसँग माग गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij