२०८२, माघ १८ गते

Feb 01 2026 | २०८२, माघ १८ गते

उद्योगको संरक्षणका लागि ठोस नीतिगत व्यवस्था आवश्यक : मन्त्री न्यौपाने

शुक्रवार , भाद्र ६, २०८२

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • रूपन्देही, ६ भदौ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले उद्योग क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि ठोस नीतिगत व्यवस्था आवश्यक रहेको बताउनुभएको छ ।
    ईटा उद्योग व्यवसायी संघ लुम्बिनी प्रदेशको प्रथम साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले कुन उद्योगलाई कुन तहको सरकारले नियमन गर्ने भन्ने विषयमा अझै स्पष्टता नआएकाले उद्योग क्षेत्रमा अपेक्षित काम हुन नसकेको बताउनुभयो ।

    उहाँले भन्नुभयो–‘लुम्बिनी प्रदेश सरकार सबल नहुँदा उद्योगीहरू निराश छन्, अब उद्योग–व्यवसायलाई स्थिर बनाउन कानूनी र नीतिगत ढाँचा बनाउनैपर्छ ।’ उहाँले प्रदेशका कर्मचारी प्रदेश लोकसेवा आयोगमार्फत नियुक्त हुनुपर्ने आवश्यकता औंल्याउँदै यसले प्रशासनिक कामलाई सहज र परिणाममुखी बनाउने बताउनुभयो ।

    यातायात क्षेत्रमा प्रदेश सरकारले उल्लेखनीय काम गरेको दावी गर्दै उहाँले असोज महिनाभित्रै इम्बोस्ड नम्बर प्रणाली लागू हुने जानकारी दिनुभयो । मन्त्री न्यौपानेले प्रदेश सरकारलाई अनुगमन मात्र नभइ कारवाही गर्ने अधिकार पनि दिनुपर्ने धारणा राख्दै उद्योगहरूको नवीकरण नहुँदा पनि कर छुटको व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा नेपाल ईटा उद्योग संघका केन्द्रीय अध्यक्ष शंकर बहादुर चन्दले सरकारले इटा उद्योगलाई निरन्तर अपहेलना गरेको आरोप लगाउनुभयो । उहाँले इटा उद्योगबाट धुवाँ निस्कने भन्दै उद्योगीमाथि मात्रै दोष थोपरेको तर, उद्योगीको वास्तविक पीडा सुन्न राज्य असफल भएको बताउनुभयो ।

    ईटा उद्योगलाई दीर्घकालीन दृष्टिकोणसहित सम्बोधन नगरे उद्योग संकटतर्फ धकेलिने उहाँले चेतावनी दिनुभयो । प्रदेश अध्यक्ष थानेश्वर घिमिरेको अध्यक्षता तथा महासचिव रुक बहादुर भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।