 
                            
                         
                        शनिवार , भाद्र ७, २०८२
 
                                                                            रुपन्देही, ७ भदौ । नेकपा (एमाले) ले शनिबार रुपन्देहीमा तीज मिलन तथा पार्टी प्रवेश कार्यक्रम गरेको छ । जिल्लाको शुद्धोदन गाउँपालिका र रोहिणी गाउँपालिकामा छुट्टाछुट्टै पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको हो ।
दुवै ठाउँमा गरी करिब ३ सय जना अन्य पार्टी परित्याग गरी एमाले प्रवेश गरेको एमाले जिल्ला उपसचिव बाबुराम पन्थीले जानकारी दिनुभयो । शुद्धोदनमा राप्रपा गाउँ कमिटी सचिव बासुदेव चौधरी, राप्रपा ५ नम्बर वडा कमिटी अध्यक्ष बुद्धिबहादुर बगालेसहित विभिन्न पार्टी परित्याग गरी १५६ जना एमाले प्रवेश गरेको पन्थीले बताउनुभयो ।
शुद्धोदनमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेकाहरुलाई स्वागत गर्दै एमाले पोलिटब्यूरो सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज लिला गिरीले एमालेलाई जनताको भरोसाको केन्द्र बनाउन पार्टी प्रवेशले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । उहाँले एमालेलाई एक जिम्मेवार, सशक्त र लोकतान्त्रिक पार्टीका रूपमा जनसमक्ष प्रस्तुत गर्न सबै कार्यकर्ताले आ–आफ्नो क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । गिरीले भन्नुभयो–‘एमालेलाई जनताले आशा र विश्वासका साथ हेरिरहेका छन् । हामीले यही विश्वासलाई संरक्षण गर्दै विकास, समृद्धि र सुशासनको अभियानलाई निरन्तर अघि बढाउनुपर्छ ।’ उहाँले मुलुकभर पार्टी प्रवेशको लहर बढ्नु एमालेप्रति जनताको आकर्षण र विश्वासको सूचक भएको बताउनुभयो ।
 
एमालेले समाजका सबै वर्ग, समुदाय र क्षेत्रलाई प्रतिनिधित्व गर्ने शक्ति भएकाले संगठनमा सामेल हुने सबैलाई समान अवसर र सम्मानको वातावरण सिर्जना गरिने उहाँको भनाइ छ । ‘हामीलाई अब विचारको मात्र होइन, आचरणको स्वच्छता, नेतृत्वमा पारदर्शीता र जनताको अपेक्षा पूरा गर्ने व्यवहारिक कामले अझै मजबुत बनाउनेछ,’उहाँले थप्नुभयो ।
अर्का पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा एमालेको जीत सुनिश्चित हुने गरी लाग्न आम कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले भ्रममा नपरी सत्यको जगमा टेकेर एमालेलाई जिताउने गरी सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा एमाले नेताहरु तुलसी प्रसाद चौधरी, रामहरि मरासिनी, विश्वप्रकाश मरासिनी, बुद्धिबहादुर बगाले, हितराज पन्थी, राजेन्द्र कंडेल, नरबहादुर घर्ती, छविलाल श्रेष्ठ, कोपिला काफ्ले, बैजनाथ गुप्ता, बासुदेव चौधरी, शान्ता ज्ञवाली, गोविन्द चौधरीलगायतले पनि बोल्नुभएको थियो । उहाँहरुले पार्टी प्रवेशसँगै नेताहरुले प्रवेशकर्ताको आगमनले संगठनलाई थप सुदृढ बनाउने र आगामी दिनमा जनताको विश्वासलाई व्यवहारमै उतार्ने संकल्प व्यक्त गर्नुभयो ।
त्यस्तै रुपन्देहीको रोहिणी गाउँपालिकामा पनि विभिन्न पार्टी परित्याग गरेका १५० जनालाई एमाले रुपन्देहीले स्वागत गरेको थियो । एमाले रोहिणी–७ वडा कमिटीको आयोजनामा भएको कार्यक्रममा पूर्व वडाअध्यक्ष दुखनी था, प्रदीय यादव, ऋषिराम भर, राजेश यादव, आकाश ठाकुर, किसुन हरिजन, लालचन्द केवट, अनिता हरिजन लगायत १५० जना एमालेमा प्रवेश गरेको पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रोहिणी गाउँपालिका इञ्चार्ज संजय कुमार गुप्ताले बताउनुभयो ।
त्यस अवसरमा बोल्दै एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले पार्टी प्रवेशले एमाले थप सशक्त बन्ने आधार तयार भएको भन्दै अब आउँदो उपनिर्वाचनलाई लक्षित गरी जनताका काममा खटिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले मुलुकको विकास एमालेबाहेक अरु कुनै दलबाट हुन नसक्ने दावी गर्दै जिल्लाको विकासका लागि पनि एमालेको जीत अपरिहार्य आवश्यकता रहेको बताउनुभयो । त्यस अवसरमा एमाले प्रदेश सल्लाहकार धनेश्वरी चौधरी, जिल्ला कमिटी सदस्य प्रदीप कुमार पाण्डे, गणेश यादव, क्षेत्रीय कमिटी सदस्य दिलिप मणि त्रिपाठी, राधेश्याम गुप्ता लगायतले बोल्नुभएको थियो । एमाले रोहिणी गाउँ कमिटी सचिव इमरान खानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij
