
सोमवार , भाद्र ९, २०८२
भैरहवा, ९ भदौ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफू पैसा कमाउन र पदका लागि राजनीतिमा नआएको दावी गर्नुभएको छ । उहाँले आफूलाई प्रधानमन्त्री, उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री बन्न अफर आए पनि आफू नगएको बताउनुभयो ।
जनमत पार्टी रुपन्देहीले आइतबार सियारी गाउँपालिका–३ स्थित हर्नैयामा आयोजना गरेको बृहत पार्टी प्रवेश एवं प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष डा.राउतले यस्तो बताउनुभएको हो ।
‘मलाई पद लिन कसले रोक्न सक्छ ? म स्वयं पार्टीको अध्यक्ष हुँ, मैले आफैले निर्णय गर्न सक्छु । तर, म पदका लागि गइन । म अमेरिका हुँदा नै धेरै पैसा कमाउन सक्थे, सँगैका साथीहरु अर्बपति पनि भएका छन्, म राजनीतिमा आउनुअघि नै करोडपति थिए, गाडीमा चढ्थे, ’उहाँले भन्नुभयो ।
उहाँले आन्दोलन सकिएको नभइ गम्भिर मोडमा पुगेको बताउनुभयो । प्रतिनिधि सभा सदस्य समेत रहनुभएका डा.राउतले रुपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनमा आफूहरु एकजुट रहेको भन्ने जवाफ दिने बताउनुभयो । ‘अधिकारबाट वञ्चित सबै समुदाय एकजुट छौं र हामी कसैसँग झुक्दैनौं भन्ने सन्देश निर्वाचनमार्फत दिन्छौं । मलाई विश्वास छ रुपन्देही–३ मा हाम्रो जीत सुनिश्चित छ’उहाँले भन्नुभयो ।
उहाँले जनमत पार्टी आवाजबिहीनको आवाज भएको बताउनुभयो । आफू थारु समुदायको प्रेरणाबाट राजनीतिमा आएको उहाँको भनाइ छ । संसद्, सडक, निर्वाचन सबै मोर्चामा थारु, मधेशी, मुस्लिम, आदिवासी–जनजाति सबै एकैसाथ उभिनुपर्ने र त्यही प्रयासमा आफू लागेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष दानबहादुर चौधरी, सचिवद्वय भोपेन्द्र प्रसाद यादव, बाल गोविन्द चौधरी, केन्द्रीय सदस्य रामदेव यादव, कृष्ण कोहार, केन्द्रीय सदस्य तथा प्रदेश सचिव शिवचरन केवट, पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्रकेश (सिके) गुप्ता, प्रदेश सभा सदस्य सुमन रायमाझी, लुम्बिनी प्रदेश इञ्चार्ज राजेन्द्र गुप्ता, केन्द्रीय कार्यकारिणी सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामकेश गुप्ता, रुपन्देही जिल्ला सचिवालय सदस्य रामु धवल, जिल्ला प्रवक्ता रुपचन यादव लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा गत निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका धनीराम चौधरीसहित नेता–कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गर्नेमा थारु कल्याणकारी एवं थरुहट संघर्ष समितिका प्रदेश सचिव कमल नारायण चौधरी, नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य सरस्वती थारु, प्रदेश सदस्य गौरी यादव, नेताहरु श्रीरामकुमार चौधरी, खेम बहादुर चौधरी, रुद्रनारायण चौधरी, बैजन्ती चौधरी, महबुद्दीन अन्सारी (पिल्लु) लगायत रहनुभएको जनमत पार्टी रुपन्देहीका प्रवक्ता रुपचन यादवले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij