
सोमवार , भाद्र ९, २०८२
बुटवल, ९ भदौ । नेकपा (एकीकृत समाजवादी) ले रूपन्देहीले सोमबार बुटवलमा चौथो स्थापना दिवस मनाएको छ । पार्टी कार्यालयमा शूभकामना आदानप्रदान कार्यक्रम गरी स्थापना दिवस मनाएको सो पार्टीले जनाएको छ ।
स्थापना दिवसमा पार्टीका केन्द्रीय सदस्य बाबुलाल यादवले संविधानको रक्षा, कम्यूनिष्ट आन्दोलनमा देखिएको बिचलनका कारण आफूहरु विद्रोह गर्नुपरेको स्मरण गर्दै स्थापनाको ४ वर्षमै पार्टीलाई संस्थागत बनाउन सकेको बताउनुभयो । उनले एमालेबाट विद्रोह गर्नुको कारण पछिल्ला दिनमा त्यस पार्टीभित्र देखिएको प्रवृत्तिले पुष्टि गरेको बताउनुभयो । यादवले अहिले आम जनतामा चरम निराशा देखिएकाले अब कम्यूनिष्ट पार्टीहरुबीच एकता जरुरी रहेको पनि बताउनुभयो । उहाँले अब समाजवादमा नगइकन समस्याहरु समाधान नहुने समेत बताउनुभयो ।
शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शरद सिले नेपालका कम्युनिष्ट पार्टीहरु सरकारमा गएपछि बदनाम भएको बताउँदै अब सच्चा कम्यूनिष्टहरुको एकता जरुरी रहेको बताउनुभयो । उहाँले व्यवस्थासँगै जनताको अवस्था जोडिने बताउँदै अब समाजवादी मोर्चामार्फत आन्दोलनदेखि निर्वाचनसम्म एक भएर जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेशका उपाध्यक्ष कमल भण्डारीले वर्तमान समयमा देखिएको समस्या समाधानका लागि समाजवादी व्यवस्थामा जानुपर्ने बताउनुभयो । उहाँले चार वर्षको अवधिमा नेपालको राजनीति र संविधानलाई सही बाटोमा हिंडाउन सफल भएको भन्दै विद्रोहको औचित्य पुष्टि भएको दावी गर्नुभयो ।
पार्टीको रुपन्देही जिल्ला उपाध्यक्ष अविराम विकले दलाल पूँजीवादी चरित्रले समाजमा विभिन्न समस्याहरु देखापरेको बताउँदै यसको समाधान पार्टीको १० औं महाधिवेशनले पारित गरेको कार्यक्रमले दिएको बताउनुभयो। उहाँले नेपाली विशेषताको समाजवादमा जाने पार्टीको नीति नै अबको राजनीतिक सामाजिक समस्याको हल रहेको बताउनुभयो ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका विक्रम नेपाली, एकीकृत समाजवादी जिल्ला सचिव टंक पोख्रेल, उपसचिव बाबुराम अर्याल लगायतले बोल्दै पार्टी स्थापनाको शुभकामना दिनुभएको थियो । तत्कालीन नेकपा (एमाले) मा नेपालसहितका नेताहरुको असन्तुष्ट बनेपछि २०७८ साल भदौ ९ गते नेकपा एकीकृत समाजवादीको स्थापना भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij