२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक, राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्ने निर्णय

सोमवार , भाद्र ९, २०८२

  • 412
    Shares
  • 412
    Shares
  • दाङ, ९ भदौ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १२ वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रशासनिक, कानूनी, भौतिक पूर्वाधार र सामाजिक क्षेत्रका विषयहरुबारे निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो । 

    राजधानी क्षेत्रभित्र राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकामा रोक्का राखिएका निजी जग्गा स्थानीयको माग र पूर्वाधार विकास प्राधिकरणको सिफारिसअनुसार शर्तसहित फुकुवाका लागि संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय बैठकले गरेको छ । 

    निर्णय अनुसार राप्ती गाउँपालिकाका सम्पूर्ण वडा, गढवा गाउँपालिका वडा नम्बर १, २ र ३ मा १ कट्ठा भन्दा सानो र शितगंगा नगरपालिका वडा नम्बर ८ र ९ मा १ रोपनी भन्दा सानो क्षेत्रफलमा कित्ताकाट गर्न पाइने छैन। साथै जग्गा खरिदकर्ताले एकीकरण आयोजनाका शर्तहरू पालना गर्ने गरी सहमतिपत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रदेश राजधानी घोषणा अघि २०७७ साल असोज १६ गते सरकारले जग्गा रोक्का राख्ने निर्णय गरेको थियो ।

    बैठकले तीनजना प्रदेश सचिवहरुको जिम्मेवारी तोकेको छ । मोतिराम सापकोटालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विनोद लामिछानेलाई युवा तथा खेलकुद मन्त्रालय र चुर्णबहादुर ओलीलाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी तोकिएको हो । 

    प्रदेश निजामती सेवा पुरस्कार छनोटका लागि मापदण्ड स्वीकृत गरेको छ । यस्तै त्यस्तै संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन र आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिकका लागि अस्थायी संगठन संरचना स्वीकृत गरिएको छ ।

    बैठकले सञ्चार माध्यमसम्बन्धी ऐन संशोधन र एकीकरण गर्न अवधारणापत्र स्वीकृत गरेको छ । त्यस्तै नुवाकोट साँस्कृतिक डबली तिनाउ गाउँपालिकालाई हस्तान्तरण गर्ने, अष्ट्रेलियाको वेन्डिगोस्थित ग्रेट स्तूप अफ युनिभर्सल कम्प्यासनसँग औपचारिक सम्बन्ध स्थापना गर्दै बुद्धको प्रतिमा स्थापना गर्ने निर्णय पनि भएको छ ।

    कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयमार्फत भूमि व्यवस्थापनसम्बन्धी विधेयकको अवधारणापत्रलाई सैद्वान्तिक स्वीकृति दिइएको छ भने सामाजिक विकास मन्त्रालयमार्फत दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरिएको छ । 

    स्वास्थ्य मन्त्रालयको तर्फबाट प्रस्तुत गरिएको प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नविकरण तथा स्तरोन्नति नियमावली, २०८२ संशोधन मस्यौदालाई पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।