२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

रुपन्देहीमा दुई दिनमा १८ लाख बढीको अवैध सामान बरामद

मंगलवार , भाद्र १०, २०८२

  • 385
    Shares
  • 385
    Shares
  • भैरहवा, १० भदौ । रुपन्देही प्रहरीले भदौ ८ र ९ गते १८ लाख बढीको अवैध सामान बरामद गरेको छ । दुई दिनमा अन्दाजी मूल्य १८ लाख ४३ हजार १ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएपी) सुरज कार्कीले जानकारी दिनुभयो ।

    जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको प्रहरी टोलीले आइतबार र सोमबार जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेको सामान बरामद गरिएको डीएसपी कार्कीले बताउनुभयो । उहाँका अनुसार प्रहरीले नियन्त्रणमा लिइएका सामानहरु आवश्यक आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ ।

    इलाका प्रहरी कार्यालय बेलहिया र प्रहरी चौकी चनौली बगहाबाट खटिएको संयुक्त टोलीले रोहिणी गाउँपालिका–१ सेमरपानी र सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बाइपासबाट युपी ५६ बीडी ३९३३ र युपी ५६ बीबी ००१५ नम्बरको मोटरसाईकलमा ल्याउँदै गरेको वास्तु पिरामिड २ सय सेट, चश्मा १६० पीस, नोटिस्टार २३ प्याकेट र मोटरसाईकलसहित गरी ८ लाख २५ हजार बराबरको सामान बरामद गरेको छ ।

    त्यस्तै इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको टोलीले कोटहीमाई गाउँपालिका–३ बाट लु ३७ प ३१८२, लु ३९ प ५८२८ नम्बरको मोटरसाईकलमा चिनी ६ बोरा, सरफ २ बोरा, दाल २ बोरा र मोटरसाईकलसहित २ लाख ४१ हजार मूल्य बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

    त्यसै गरी इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको टोलीले सियारी गाउँपालिका–३ स्थित हर्नैयाबाट लु ३९ प ५३८४, लु ७ प १८७८, लु ६ प ६५ र लु ३१ प २३३४ नम्बरको मोटरसाईकलमा जुत्ता १५० जोडी, बच्चाको खेलौना १४२ पिस, चिनी ३ बोरा र मोटरसाईकसहित ७ लाख ६ हजार १ सय बराबरको सामान प्रहरीले बरामद गरेको छ ।

    त्यस्तै प्रहरी चौकी कालीदहबाट खटिएको टोलीले लुम्बिनी साँस्कृतिक नगरपालिका–१ नन्दनगरबाट युपी ५५ यु २५५० नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाईकलमा बाख्रा ५ वटा, टायल ५ बण्डल र मोटरसाईकलसहित ४१ हजार बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

    डीएसपी कार्कीका अनुसार प्रहरी चौकी मेउडिहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–२ बाट ३० हजार मूल्य बराबरको लेडिज सुट २० पिस बरामद गरेको छ ।