२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

अनलाइन ठगीका घटना बढ्दै, प्रहरीमा उजुरीको चाङ

बुधवार , भाद्र ११, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • बुटवल, ११ भदौ । आधुनिक समाज, सूचना प्रविधिको तीव्र विकास र यसको प्रयोग बढेसँगै पछिल्लो समय अनलाइन ठगीका घटना पनि डरलाग्दो तरिकाले बढिरहेका छन् । सामाजिक सञ्जाल फेसबुक, टिकटक, इमो, भाइबर, इन्ष्ट्राग्राम, मोबाइल एप्स र ई–कमर्श प्लेटफर्ममार्फत दैनिक सयौं नागरिक ठगिन थालेपछि सुरक्षा निकायलाई ठूलो चुनौती खडा भएको छ । वर्षेनी करोडौं रुपैयाँ अनलाइन ठगी भइरहेको र कयौंलाई पक्राउ गरी रकम फिर्ता गराइएको प्रहरीको तथ्यांकमा उल्लेख छ । 

    प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा रुपन्देही जिल्लामा मात्र ७ सय ८ वटा अनलाइन ठगीका निवेदन दर्ता भएका छन् । उजुरीका आधारमा अनलाइन ठगीमा देखिएको बिगो रकम ११ करोड ७२ लाख, २९ हजार ४ सय ४६ रहेको र प्रहरीको अध्ययन, अनुसन्धान र सक्रियताबाट २ करोड ५३ लाख ५ हजार २ सय ६८ रुपैयाँ पीडितलाई फिर्ता गराइएको छ । 

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पछिल्ला वर्षहरुमा अनलाइन ठगीका घटना डरलाग्दो रुपले बढिरहेको छ । यसले सुरक्षा निकायलाई चुनौती थपिएको र गम्भिर चिन्ताको विषय बनेको प्रहरी नायव उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी सुरज कार्कीले बताउनुभयो ।

    डीएसपी कार्कीका अनुसार यस वर्ष उक्त संख्या दोब्बर हुने अनुमान छ । यो आर्थिक वर्षको पहिलो महिनामै ७२ वटा उजुरी दर्ता भइसकेका छन् । डीएसपी कार्की भन्नुहुन्छ–‘फेसबुक, इन्ष्टाग्राम, टिकटक आदि सामाजिक सञ्जालमार्फत सस्तो सामान बेच्ने प्रलोभन दिइ पैसा लिएर सामान नपठाउने, मोबाइल नम्बर वा मेसिन आईडी ह्याक गरी फेसबुक फ्रेन्डसँग पैसा माग्ने, अन्तर्राष्ट्रिय लटरी चिठ्ठा, गिफ्ट प्याकेज वा अफिसियल ईमेलमार्फत ठगी, ऋण सुविधा दिने भन्दै व्यक्तिगत विवरण मागेर रकम असुल्ने, अनलाइन गेमिङ र बेटिङ एपमार्फत आकर्षक कमाइ हुने देखाइ ठग्ने लगायतका घटनाहरु हुने गरेका छन् ।’

    प्रहरीका अनुसार ठगीका घटनामा पर्ने पीडितमध्ये धेरैजसो १८–३५ वर्ष उमेर समूहका रहेका छन् । सामाजिक सञ्जालमा सक्रियता बढी हुने यही उमेर समूह लक्षित हुने गरेको छ । कतै अश्लिलतातर्फका घटना त कतै मोबाइल नआएको पीडा छ, त कतै गिफ्ट प्याकेजको धोका, कतै सस्तो ब्याज पाउने आशा त कतै धेरै कमाउने लोभ, कतै विदेश जाने प्रलोभन त कतै अनलाइन व्यापार । कतै फेसबुक ह्याक गरी आफन्तसँग पैसा मागेका घटना त कतै बैंक खाता ह्याक गरी रकम असुलेका घटना, यी सबै घटनाका फाइलहरुको चाङ्गै बनेको छ प्रहरी कार्यालयहरुमा । 

    ग्रामीण क्षेत्रबाट शहर पस्ने र छिटै धेरै कमाउने लोभले यस्तो घटनामा वृद्धि भएको पाइन्छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक धर्मराज खत्रीका अनुसार प्रविधिले सुविधा दिएको छ । तर, यसको दुरुपयोग गरेर अपराध गर्नेहरुको संख्या बढेका कारण समस्या उत्पन्न भएको छ । यसका कारण कयौं हिंसाका घटनाहरु पनि घटिरहेका छन् । 

    बुटवलकी निरमा गुरुङ्गले एक महिनाअघि आफ्नी फुपु गीता गुरुङ्गको मेसेन्जरबाट ५० हजार पैसा मागेपछि आवश्यक परेको भएर मागेको होला भनेर ५० हजार पठाउनुभयो । पछि फुपुसँगको भेटमा पैसाको कुरा गर्दा उहाँ छक्क पर्नुभयो पैसा माइजुको हातमा नपरी गायब भयो । १ महिना अघिदेखि इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी निरमाले ह्याकर पत्ता लाग्यो कि भन्दै धाउन थाल्नुभएको छ । तर, पत्ता लागेको छैन । 

    तिलोत्तमाका २३ वर्षीय समन जैसवाललाई ‘ब्राण्डेड मोबाइल फोन आधा मूल्यमा’ भन्ने फेसबुक पेजले फसायो । उहाँले पनि १५ हजार पठाएपछि ठगिएको चाल पाउनुभयो । १ महिनासम्म सामान पनि आएन, उक्त पेज नै हरायो । 

    त्यस्तै तिलोत्तमा–१५ कि ३० वर्षीया निता थापालाई अज्ञात फेसबुक फ्रेन्डले ‘अष्ट्रेलियाबाट गिफ्ट पठाइदिएको छु’ भन्यो । केही दिनपछि काठमाडौंस्थित भन्सार कार्यालयको नम्बर हो भन्दै एउटा नम्बरबाट फोन आयो। गिफ्ट लिन कर तिर्नुपर्छ भनेर २५ हजार माग्यो, उहाँले २५ हजार बुझाउनुभयो । गिफ्ट भने कहिल्यै आएन ।

    बुटवल–१३ बेलबासकी देवीमाया कार्कीलाई अनलाइनमा ‘सस्तो ब्याजमा ऋण’ दिने प्रस्ताव आयो । उहाँले नागरिकता, खाता नम्बर पठाइन् । पछि “खाता एक्टिभेट गर्न शुल्क” भन्दै १७ हजार माग्यो, उहाँले पनि १७ हजार बुझाउनुभयो । ३ महिना अघि पैसा गएको छ, तर ऋण अझै आएको छैन । त्यस्तै अष्ट्रेलिया, यूके जस्ता देशबाट फोन आउने र भिसा मिलाइदिन्छौ भनि लाखांै ठगी भइरहेको छ । ‘बुटवलकै एक ६८ वर्षिय महिलाले समेत यूके जाने र उतै विवाह गरी बस्ने प्रलोभनले ४८ लाख गुमाएको घटना ताजै छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ईन्द्र बहादुर रानाको भनाइ छ ।’
    अनलाइनमार्फत ठगी गर्नेहरुको गत वर्ष मात्रै ६१ लाख ८० हजार फिर्ता गराइसकेको ईप्रका बुटवलले जनाएको छ । बुटवलमा परेको उजुरीका आधारमा गत वर्ष मात्रै २ करोड बढी ठगी भएको प्रहरीले जनाएको छ।

    2.jpg

    प्रहरी भन्छ–‘सजगता नै मुख्य सुरक्षा हो ।’ अनलाइन ठगी नियन्त्रण गर्न प्रहरी निरन्तर सक्रिय छ । तर, सजगता बिना नागरिकलाई जोगाउन कठिन छ । लोभमा नपरी आधिकारिक वेबसाइट वा कम्पनीसँग मात्र कारोबार गर्नुपर्छ । साइबर हेल्प डेस्कमार्फत अनलाइन अपराध निगरानी भइरहे पनि धेरैजसो घटना पीडित आफै सावधानी नअपनाउँदा घटना घटेको प्रहरीको भनाइ छ । युवाहरूमा छिटो धनी हुने राम्रो लागाउने र मिठो खाने प्रलोभनले बढी जोखिममा पर्छन । ‘सस्तोमा पाउने, तुरुन्त कमाउने’ मनोविज्ञानलाई अपराधीहरूले प्रयोग गर्ने गरेको विश्लेषण उनीहरुको छ । हिरा, अमन, रिता र मायाजस्ता पीडितका कथा धेरै छन् ।  

    अनलाइन ठगीको जाल चतुर र बहुआयामिक भइसकेको छ । प्रहरी तथ्यांकले पनि त्यसलाई पुष्टि गर्छ । प्रविधिले सुविधा दिए पनि सजगता नगरे ठगीको फन्दामा पर्न सकिन्छ । प्रहरी भन्छ–‘अज्ञात लिंक नखोल्नुहोस्, आधिकारिक वेबसाइट वा दर्ता कम्पनीबाट मात्र कारोबार गर्नुहोस, रकम पठाउनुअघि प्रत्यक्ष भेट वा आधिकारिक प्रमाण खोज्नुहोस्, ठगीमा परे तुरुन्त १०० वा ११४० मा नम्बर सम्पर्क गर्नुहोस् ।’
    प्रहरीले अनलाइन ठगी नियन्त्रण गर्न लगातार सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ । नागरिकले अनलाइन कारोबार गर्दा आधिकारिक वेबसाइट वा दर्ता भएका कम्पनीसँग मात्र गर्न प्रहरीले आग्रह गरेको छ । अज्ञात लिंक, अज्ञात नम्बर र लोभलालचमा परेर रकम पठाउनु सबैभन्दा ठूलो जोखिम हो । 

    यस्ता घटनालाई न्यूनीकरण तथा रोकथामका लागि विभिन्न प्रयास गर्दै आएको छ । विद्यालय, क्याम्पस र टोलस्तरमा साईबर सचेतना कार्यक्रम, अनलाइन अपराध अनुगमनका लागि छुट्टै ‘साइबर हेल्प डेस्क’ प्रहरीको आधिकारिक हेल्पलाइनमा तत्काल उजुरी दिने व्यवस्था गरेको छ । प्रहरी भन्छ–‘कुनै पनि आर्थिक कारोबार गर्दा सतर्क रहनु, सजगता अपनाउनु र विचार पुर्याएर काम गर्नु नै ठगीबाट जोगिने उपाय हो, यसको विकल्प छैन ।’