२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

भूमि विधेयकविरुद्ध जसपा नेपालद्वारा भैरहवामा प्रदर्शन

बिहिवार , भाद्र १२, २०८२

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, १२ भदौ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल भूमि विधेयकको विरोधमा उत्रिएको छ । बिहीबार जसपा नेपाल जिल्ला समिति, रुपन्देहीले भैरहवामा प्रदर्शन गरेको हो ।

    जसपा नेपालले भूमिसम्बन्धि विधेयक मुलुक र जनताको हितमा नरहेको, भू–माफिया, जग्गा दलालको हित हुने र यसबाट वनजंगल विनाश भइ तराई–मधेश मरुभूमिकरण हुने भएकाले सुरुदेखि नै यसको विपक्षमा रहेको बताएको छ ।

    पार्टीको केन्द्र तथा प्रदेश समितिको निर्देशनअनुसार प्रदर्शनमा उत्रिएको जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवले बताउनुभयो ।

    सिद्धार्थनगर नगरपालिका–४ स्थित श्री राम जानकी हनुमान मन्दिरबाट सुरु भएको प्रदर्शन पिपरहिया चोक, गल्लामण्डी हुँदै मिलनचोकमा पुगेर विरोध सभामा परिणत भएको पार्टीको रुपन्देही जिल्ला सचिव विष्णु अधिकारीले बताउनुभयो ।

    विरोध सभामा बोल्दै जसपा नेपालका केन्द्रीय सदस्य कैलाश गुरुङले बाध्य भएर आफूहरु आन्दोलनमा उत्रिनुपरेको बताउनुभयो । उहाँले सरकारले यो आन्दोलनलाई कमजोर ठाने अझ सशक्त रुपमा अगाडि बढ्ने बताउनुभयो । उहाँले वर्तमान सरकारले किसानको समस्या समाधान गर्न नसकेको आरोप लगाउनुभयो । 

    त्यस्तै पार्टीको केन्द्रीय सदस्य निलम यादवले भूमि विधेयक जनताको पक्षमा नरहेको दावी गर्नुभयो । उहाँले जसपा नेपालले भूमि विधेयक पारित हुन नदिएपछि पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजिएको बताउनुभयो । 

    पार्टीको केन्द्रीय सदस्य रीता यादवले वर्तमान सरकारले वनजंगल विनाश गरेर मधेशलाई मरुभूमि बनाउन खाजेको आरोप लगाउनुभयो । जसपा नेपाल लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष राम अवतार यादवले जनताको विपक्षमा कुनै पनि कदम चालिए पार्टीलाई स्वीकार्य नहुने बताउनुभयो ।

    पार्टीको लुम्बिनी प्रदेश कोषाध्यक्ष तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले देश र जनताको हितमा नै जसपा नेपाल अगाडि बढेको बताउनुभयो ।

    कार्यक्रममा जसपा नेपाल लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य बच्चुलाल केवट, इना मुल्लाह फकिर, समाजवादी युवा संघ, नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राहुल यादव, पार्टीको गैडहवा गाउँपालिका अध्यक्ष शिवकुमार यादव, नेता ब्यासमुनी चौधरी, सिद्धार्थनगरका अध्यक्ष जावेद आलम लगायतले बोल्नुभएको थियो ।