२०८२, भाद्र १७ गते

Sep 02 2025 | २०८२, भाद्र १७ गते

भूमि विधेयकविरुद्ध कोटहीमाईमा जसपा नेपालको प्रदर्शन

सोमवार , भाद्र १६, २०८२

  • 487
    Shares
  • 487
    Shares
  • भैरहवा, १६ भदौ । भूमि विधेयकविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपाल कोटहीमाई गाउँपालिका समितिले मर्चवारमा प्रदर्शन गरेको छ । आइतबार कोटहीमाई–७ स्थित परसहवाँमा पार्टीले प्रदर्शन तथा कोणसभा गरेको हो ।

    जसपा नेपालले भूमिसम्बन्धि विधेयक मुलुक र जनताको हितमा नरहेको, भू–माफिया, जग्गा दलालको हित हुने र यसबाट वनजंगल विनाश भइ तराई–मधेश मरुभूमिकरण हुने भएकाले सुरुदेखि नै यसको विपक्षमा रहेको बताएको छ ।

    भूमि विधेयकविरुद्ध अहिले अन्दोलनको सुरुवात रहेको जसपा नेपाल कोटहीमाईका इञ्चार्ज राहुल यादवले बताउनुभयो । उहाँ पार्टीको केन्द्र तथा प्रदेश समितिको निर्देशनअनुसार प्रदर्शनमा उत्रिएको बताउनुभयो । भूमि विधेयक फिर्ता नभए अन्दोलनलाई अझ सशक्त बनाउने उहाँले बताउनुभयो ।

    विरोध सभामा बोल्दै जसपा नेपालका केन्द्रीय सदस्य कैलाश गुरुङले बाध्य भएर आफूहरु आन्दोलनमा उत्रिनुपरेको बतउनुभयो । उहाँले सरकारले यो आन्दोलनलाई कमजोर ठाने अझ सशक्त रुपमा अगाडि बढ्ने बताउनुभयो । उहाँले वर्तमान सरकारले किसानको समस्या समाधान गर्न नसकेको आरोप लगाउनुभयो ।

    मर्चवारमा आफुले २० वर्ष पहिलादेखि आइरहेको बताउँदै जिल्लाको अरु क्षेत्रमा निकै परिवर्तन भएपनि मर्चवारले खासै परिवर्तन नगरेको बताउनुभयो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले यस विधेयकको विरुद्धमा खडा भएपछि उहाँमाथि झुठा मुद्दाको प्रहार भएको उहाँले बताउनुभयो । यो विधेयकले नेपाललाई मरुभूमि बनाउने षडयन्त्र भइरहेको उहाँले बताउनुभयो ।

    जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम अवतार यादवले विधेयकको वास्तविक रुपलाई जनतामा खुलासको गर्न यो विरोध कार्यक्रम गरिएको बताउनुभयो । उहाँले भूमि विधेयक पारित भए सबै चुरे पहाडको वन फडानी हुने र तराईमा रहेका विभिन्न वनजंगलहरु खाटेर बिचौलियाको हातमा विक्री हुने बताउनुभयो 

    विरोध कार्यक्रममा जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादव, पार्टीको सिद्धार्थनगर नगरपालिका अध्यक्ष जाबेद आलम, गैडहवा गाउँपालिका अध्यक्ष शिव कुमार यादव, कोटहीमाई गाउँपालिकाका पूर्वअध्यक्ष चन्द्रभुषण यादव लगायतले बोल्नुभएको थियो ।