२०८२, भाद्र १७ गते

Sep 02 2025 | २०८२, भाद्र १७ गते

भन्सारमा मालसामान चेकजाँच प्रक्रिया लामो र झण्झटिलो भयो : व्यवसायी

मंगलवार , भाद्र १७, २०८२

  • 928
    Shares
  • 928
    Shares
  • भैरहवा, १७ भदौ । भन्सार कार्यालयमा मालसामान चेकजाँच प्रक्रिया लामो र झण्झटिलो भएको व्यवसायीले गुनासो गरेका छन् । उनीहरुले प्रक्रियालाई सहज र सरल बनाउन आग्रह गरेका छन् । सिद्धार्थ सञ्जाल, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको स्वागत, बधाई तथा छलफल कार्यक्रममा व्यवसायीले यस्तो गुनासो गरेका हुन् ।

    कार्यक्रममा सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले भैरहवा भन्सार कार्यालय नेपालको प्रमुख व्यापारिक नाका भएको बताउनुभयो । उहाँले नेपाल र भारत सीमाबाट बढी आयात निर्यात यसै नाकाबाट हुने गरेको बताउनुभयो । ‘भन्सार कार्यालयमा पर्याप्त पार्किङ र भण्डारण छैन, सर्वरको समस्या र दक्ष प्राविधिककको कमी छ, ’उहाँले भन्नुभयो । भन्सार, जनपद प्रहरी, सशस्त्र प्रहरी, बन्दरगाह र निजी क्षेत्रबीच सहकार्यको कमी समेत भएको उहाँको भनाइ थियो ।

    उहाँले भन्सार मूल्यांकनमा सुधार गर्नुपर्ने, खुल्ला नाकामा कडाइ गरी भन्सारमा सहजता ल्याउनुपर्ने, छिटोछरितो र पारदर्शी तरिकाले भन्सार गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिनुभयो ।
    ‘सम्पूर्ण सामान भन्सार गेटबाट नै वैध तरिकाले ल्याउने वातावरण बनाउनुपर्छ,’ उहाँले भन्नुभयो–‘भन्सार हाताभित्र एक ठाउँमा मात्र कडा रुपमा चेकजाँच गरिसकेपछि अनावश्यक ठाउँमा चेक गरेर झण्झटिलो बनाउनुहुँदैन ।’ 

    त्यस्तै चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष सचिन रोक्काले भन्सार मूल्यांकन दर धेरै रहेको बताउनुभयो । बारम्बार यसबारे सुझाव दिदै आएको उहाँले बताउनुभयो । राजस्व चुहावटको कारण पत्ता लगाएर समाधानमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

    सिद्धार्थ सञ्जालका उपाध्यक्ष संजय बजिमयले बेलहिया नाकाको सौन्दर्यीकरण र पर्यटनमैत्री वातावरण आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले सीमा क्षेत्रमा कडाइ गरे चोरी÷तस्करी नियन्त्रण हुने बताउनुभयो ।
    रुपन्देही इभेन्ट संघका सल्लाहकार तथा चेम्बर अफ कमर्स, रुपन्देहीका कार्यसमिति सदस्य सिकन्दर अलीले भारतबाट आएर व्यवसायीले नेपालमा इभेन्ट सम्बन्धी काम गर्दा नेपाली व्यवसायी मर्कामा परेको बताउनुभयो ।

    कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेले एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) बढीमा ६ महिनामा निर्माणसम्पन्न हुने निर्माण कम्पनीबाट जानकारी प्राप्त भएको बताउनुभयो । उहाँले आईसीपी निर्माण भएपछि पार्किङ र गोदाम सम्बन्धी समस्या समाधान हुने बताउनुभयो । उहाँले भन्सार मूल्यांकन सबैभन्दा पेचिलो विषय भएको र यो सम्बन्धी धेरै प्रश्नहरु उठ्ने गरेको बताउनुभयो । यसबारे भन्सार मूल्यांकन व्यवस्थापन गोष्ठीमा कुरा राख्ने उहाँले जानकारी दिनुभयो । ‘एकीकृत रुपमा अगाडि बढ्नुपर्छ । एक्लो प्रयासले हुँदैन । वैध व्यापारलाई प्रश्रय र अवैध व्यापारलाई निरुत्साहित गर्नुपर्छ, ’उहाँले भन्नुभयो ।

    कार्यक्रममा सिद्धार्थ सञ्जालका महासचिव मधु प्रसाद पन्थी, कार्यसमिति सदस्य केशवराज ज्ञवाली, सल्लाहकार खिम बहादुर खत्री लगायतले बोल्नुभएको थियो । कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपाने र चेम्बर अफ कमर्स, रुपन्देहीका नयाँ कार्यसमितिलाई स्वागत एवं सम्मान गरिएको थियो ।

    IMG_2765.JPG