
बिहिवार , भाद्र १९, २०८२
काठमाडौं, १९ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनैपनि पार्टीको लागि काम गर्न नपाइने बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले कर्मचारीले कुनै पार्टीको लागि नभइ समग्र देश र जनताको लागि काम गर्नुपर्ने बताउनु भयो ।
देश, राष्ट्र, विधानअनुसारको काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । निर्वाचनमा कसलाई मत दिने भन्नेकुरा व्यक्तिगत कुरा भएको उल्ल्ेख गर्दै पार्टीको आदेश मानेर कर्मचारीले काम गर्न नहुने बताउनु भयो ।
सभापति देउवाले भन्नुभयो, ‘संसदमा सबैभन्दा ठूलो पार्टी हाम्रो छ त्यसकारण हामीले तपाईंहरुका कुराहरु लागू गर्न सक्दछौँ । हामी अरु पार्टीलाई पनि सहभागी गराउनसक्छौँ । कर्मचारीको हक हित हेर्ने हो ।
कर्मचारीले कुनैपनि पार्टीको लागि काम गर्न पाइँदैन । देशको, राष्ट्रको, विधानको अनुसार देशको काम गर्ने हो । कुनै पार्टीको लागि काम गर्ने होइन । चुनावमा कसलाई भोट दिने कसलाई नदिने उसको कुरा हो त्यो । तर पार्टीको आदेश मान्ने होइन ।’
सभापति देउवाले सरकारी सेवाहरु चुस्त र दुरुस्त बनाउन कर्मचारीहरु क्रियाशिल हुनुपर्ने बताउनु भयो । २१ औं शताब्दीको आकांक्षाअनुरुप जनतालाई छिटो, छरितो सेवा दिनुपर्ने बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij