२०८२, भाद्र २० गते

Sep 05 2025 | २०८२, भाद्र २० गते

सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव हुँदै गएकोप्रति उपप्रधानमन्त्री सिंहको चिन्ता

शुक्रवार , भाद्र २०, २०८२

  • 109
    Shares
  • 109
    Shares
  • काठमाडौं, २० भदौ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

    डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५ औं वार्षिकोत्सव समारोहलाई शुक्रवार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले सामुदायिक विद्यालयमा बसाईंसराई लगायतका विभिन्न कारणले विद्यार्थीको अभाव हुँदै गइरहेको बताउनु भयो ।

    उहाँले अब विद्यालयको भौतिक पूर्वाधार सुधार गर्दै उचित सदुपयोग गर्न जरुरी रहेको बताउनु भयो । राजनीतिमा आएको परिवर्तनका कारणले नै अहिले नेपालमै विद्यार्थीले आफूले चाहेका विषयहरु रोजेर पढ्न सक्ने बताउनु भयो । अध्ययनका लागि विदेश जानेहरुलाई रोक्न नसकिने पनि स्पष्ट पार्नुभयो । 

    उहाँले भन्नुभयो, ‘अहिलेको समयमा सामुदायिक विद्यालयमा कस्तो भइरहेको छ भने बसाईंसराई लगायतका कारणले पहिला विद्यार्थीको चाप भएको सामुदायिक स्कुलहरु अहिले विद्यार्थीको अभाव हुँदै गइरहेको छ । विद्यालयका भौतिक पूर्वाधारहरु छन् । अब त्यसलाई समयको मागअनुसार सदुपयोग गर्न सक्नुपर्छ ।

    समयअनुसार विद्यालय सञ्चालन गर्न सक्नुपर्छ । नेपालको विद्यार्थीको स्टाटस जुन छ त्यसको तुलना गर्दा पहिला र अहिलेको धेरै अन्तर भइसकेको छ । राजनीतिमा आएको परिवर्तनका कारणले तपाईंहरुले आफ्ना इच्छा बमोजिम पढ्न सक्नुहुन्छ । पढ्न विदेश जानु पर्दैन । विदेश जानु नै छ भने त्यसमा रोक्न मिल्दैन । क्वालिटी एजुकेसन हाम्रै क्याम्पस र स्क्लुहरुमा छ ।’

    उपप्रधानमन्त्री सिंहले विद्यार्थी अनुशासित हुनुपर्ने र प्राप्त अवसरको महत्वलाई बुझेर अघि बढ्नुपर्ने जरुरी रहेको बताउनु भयो ।