२०८२, भाद्र २२ गते

Sep 07 2025 | २०८२, भाद्र २२ गते

सामाजिक सञ्जाल बन्द गरेर मात्रै समस्याको समाधान हुँदैन : सांसद केसी

आइतवार , भाद्र २२, २०८२

  • 61
    Shares
  • 61
    Shares
  • काठमाडौं, २२ भदौ । नेपाली काँग्रेस सांसद अर्जुननरसिंह केसीले सामाजिक सञ्जाल बन्द गरेर मात्रै समस्याको समाधान नहुने भन्दै यसको समाधान खोज्नुपर्ने बताउनुभएको छ ।

    आईतवार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ‘सामाजिक सञ्जाल प्रभावकारी रुपले अहिले सञ्चालन भइरहेको र नेपाली जनताको दुःखसुखको साथीको रुपमा रहेको बताउनु भयो ।

    सामाजिक सञ्जाललाई राजनीतिक विषय बनाएर मात्रै हेर्न नहुने उहाँको भनाइ छ । बिरामी पर्दा सहयोग नपाएर बस्दा सहयोग पाउने, विपद् सूचना संप्रेषणका लागि एउटा माध्यमका रुपमा पनि सामाजिक सञ्जाल रहेको कुरा बिर्सिन नहुने बताउनु भयो । सामाजिक सञ्जाल संसारका सबै देशमा दर्ता हुने तर नेपालमा दर्ता हुन नआउने कुरा पनि ठिक नभएको जिकिर गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जाल प्रभावकारी रुपले अहिले सञ्चालन भइरहेको छ । नेपाली जनताको दुःखसुखको साथीको रुपमा छ । सामाजिक सञ्जाल राजनीतिक रुपमा मात्रै छैन । यसले कुनैपनि रुपमा बिरामी पर्दा सहयोग नपाएर बस्दा सहयोग पाउने, विपद् सूचना संप्रेषणका लागि एउटा माध्यमका रुपमा पनि छ ।

    यो एउटा सशक्त माध्यमको रुपमा छ । अभिछिन्न स्वतन्त्रतालाई अपहरण गर्ने काममा नेपाली काँग्रेस मुकदर्शक हुनु हुँदैन । यसमा बाटो खोज्नुपर्छ । सामाजिक सञ्जाल संसारका सबै देशमा दर्ता भएको छ, नेपालमा दर्ता गर्न अटेर गर्नु हुँदैन । कुराकानी गरेर समस्या समाधान गर्नुपर्छ ।’

    सांसद केसीले आम नागरिकहरु सामाजिक सञ्जाल बन्द गराएकोमा रुष्ट रहेको भन्दै यसको समाधान छिटो गर्नुपर्ने बताउनु भयो ।