
सोमवार , भाद्र २३, २०८२
काठमाडौं, २३ भदौ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेन–जी पुस्ताको प्रदर्शनका कारण स्थगित भएको छ ।
नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरुसँग छलफलका लागि बोलाइएको बैठक जेन–जी प्रर्दशनपछि विकसित घटनाक्रमका कारण स्थगित भएको हो ।
गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र गृहसचिव गोकर्णमणि दुवाडी लगायत जेन–जीको प्रदर्शनका कारण बानेश्वर क्षेत्र तनावग्रस्त भएसँगै बाहिरिनुभएको थियो । त्यसअघि बैठकमा केही सांसदहरूले विधेयकमाथि आफ्नो संशोधन प्रश्ताव राखे ।
विधेयकमाथिको छलफलमा सहभागि हुँदै नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले विधेयकमा शान्ति सुरक्षा र प्रशासनिक निर्देशनको संरचना स्पष्ट पार्नुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो ।
उहाँले नेपाल प्रहरीले गर्ने गतिविधि नेपाल सरकारको निर्देशन र सुपरीवेक्षणमा तथा जिल्लास्तरमा शान्ति सुरक्षा र सुव्यवस्थासम्बन्धी विषयमा प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले आवश्यक निर्देशन दिनसक्ने व्यवस्था प्रश्ताव गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल प्रहरीको निर्देशन र सुपरिवेक्षण नेपाल सरकारले गर्नेछ । जिल्लाको शान्ती सुरक्षा, सुव्यवस्था र सोसम्बन्धी प्रशासनका सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले प्रहरीलाई आवश्यक निर्देशन दिनसक्नेछ ।
शान्ती व्यवस्था तथा सुव्यवस्थाका सम्बन्धमा प्रहरी कर्मचारीलाई आदेश वा निर्देशन दिनुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीले सम्बन्धीत प्रमुखमार्फत दिनुपर्नेछ भनेर संशोधन राखेको छु ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले राष्ट्र र जनतालाई सुरक्षा ग्यारेन्टी दिने प्रहरी संगठनमाथि राजनीतिक हस्तक्षेप बढिरहेको भन्दै त्यस्तो हुन नदिनेगरी विधेयकलाई समृद्ध बनाउनुपर्ने धारणा राख्नुभयो ।
उहाँले अपराध अनुसन्धान जस्ता विशिष्टकृत कामहरुमा प्रहरी संगठनलाई कसैले पनि हस्तक्षेप गर्न नपाउने व्यवस्था गर्दा प्रहरीको व्यवसायिक स्वायत्ततालाई बढावा दिने धारणा राख्नुभयो ।
लगत्तै अधिकांश सांसदले बैठक स्थगित गर्न प्रस्ताव गरेसँगै सभापति न्यौपानेले बैठक स्थगित भएको घोषणा गर्नुभयो । विधेयकमा ५२ वटा संशोधन प्रस्तावमा विभिन्न ६४८ वटा विषयमा संशोधन परेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij