२०८२, भाद्र २४ गते

Sep 09 2025 | २०८२, भाद्र २४ गते

कांग्रेस जिल्ला पार्टी कार्यालय रुपन्देहीमा तोडफोड

सोमवार , भाद्र २३, २०८२

  • 730
    Shares
  • 730
    Shares
  • भैरहवा, २३ भदौ । जेनजी पुस्ताका नाममा युवाहरुले प्रदर्शनका क्रममा रुपन्देहीको भैरहवास्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका छन् । बिहानैदेखि प्रदर्शनमा निस्केका जेनजी समूहले सोमबार दिउँसो पार्टी कार्यालयमा ढुंंगामुढा गरेर तोडफोड गरेका हुन् ।

    कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणका अनुसार अन्दाजी दिउँसो २ बजेतिर आएको समूहले नाराबाजी गर्दै ढुंगामुढा गरी पार्टी कार्यालय र कार्यालय परिसरमा राखिएका सवारीसाधनहरुमा समेत तोडफोड गरेको थियो ।

    कांग्रेस जिल्ला कार्यसमिति, रुपन्देहीले लोकतान्त्रिक शासन व्यवस्थामा राजनैतिक पार्टीको कार्यालय तोडफोड गर्नु निन्दनीय कार्य भएको बताएको छ । कांग्रेस रुपन्देहीले घटनाको घोर भत्र्सना गर्दै घटनामा संलग्नको पहिचान गरी कानूनी कारवाही गरी कानूनी राज्यको अनुभुति गराउन सरकारसँग माग गरेको छ । पार्टी जिल्ला सभापति रामकृष्ण खाणले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै यस्तो माग गर्नुभएको हो ।

    ‘भदौ २३ गतेका दिन कांग्रेस जिल्ला कार्यालयमा महामानव वि.पी.कोइरालाको ११२ औं जन्मजयन्तीको उपलक्ष्यमा आयोजना गरिएको खुल्ला हाफ म्याराथन दौड प्रतियोगिताको तयारीका लागि पार्टी पदाधिकारी र जिम्मेवार साथीहरु, आदिवासी जनजाति महासंघको बैठक बसिरहेको समयमा अन्दाजी २ बजेतिर अराजक तथा अनियन्त्रित भिडले नाराबाजी गर्दै ढुंगामुढा गरी पार्टी कार्यालय तोडफोड गर्ने र कार्यालय परिसरमा राखिएका सवारीसाधनहरुमा समेत तोडफोड गरी स्थिति भयावह बनाएकोमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति, रुपन्देही खेद प्रकट गर्दछ, ’विज्ञप्तीमा भनिएको छ ।

    साथै भदौ २४ गते (भोलि) आयोजना गरिएको म्याराथन दौड प्रतियोगिता देशको विषम परिस्थितिका कारण स्थगित गरिएको सभापति खाणले बताउनुभयो । ‘यसबाट पर्न गएको धावकहरुको मर्काप्रति क्षमाप्रार्थी छौं, ’उहाँले भन्नुभयो ।