
मंगलवार , भाद्र २४, २०८२
भैरहवा, २४ भदौ । जेनजी समूहद्वारा राज्य सञ्चालनप्रतिको विकृति तथा व्याप्त भ्रष्टाचारको विरुद्धमा सञ्चालन गरिएको शान्तिपूर्ण आन्दोलनका क्रममा घटेको दुःखद घटनाप्रति सम्पूर्ण उद्योगी–व्यवसायीहरु स्तब्ध एवं मर्माहत भएको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले बताएको छ । संघले मंगलबार शोक विज्ञप्ती जारी गर्दै लोकतान्त्रिक समाजमा नागरिकले आफ्नो माग र आवाज शान्तिपूर्ण आन्दोलनमार्फत व्यक्त गर्नु संवैधानिक र नैसर्गिक अधिकार हो भन्ने दृढ विश्वासका साथ आन्दोलनरत युवामाथि भएको अमानवीय व्यवहार र घटनाले सम्पूर्ण व्यवसायीलाई गहिरो पीडामा पारिदिएको जनाएको छ ।
‘यस घटनाका क्रममा वीरगति प्राप्त गर्नुभएका सबै अमूल्य जीवनहरुको असमायिक निधनप्रति गहिरो शोक प्रकट गदछौं, ’अध्यक्ष नेत्र प्रसाद आचार्यद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘देश, समाज र जनताको अधिकार र न्यायको लागि संघर्ष गर्दा प्राण आहुति दिनुभएका वीर आत्माहरुलाई सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र दिवगंत आत्माको चिरशान्तिको कामना गर्दछौं । साथै यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै धैर्यधारण गर्ने शक्ति प्रदान होस् भन्ने प्रार्थना गर्दछौं ।’
सामाजिक न्याय, शान्ति, सुरक्षाको अनुभुति दिलाउनुपर्ने जिम्मेवारी बोकेको सरकारले संवेदनशील अवस्थामा यस्ता निन्दनीय र अमानवीय घटना हुनु अत्यन्तै दुःखद विषय भएको अध्यक्ष आचार्यले बताउनुभयो । यस घटनाप्रति संघले कडा भत्र्सना गरेको र आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति नहोस् भन्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
‘दिवंगत आत्माप्रति श्रद्धाञ्जलीस्वरुप र आन्दोनरत पक्षप्रति ऐक्वयबद्धता प्रकट गर्नका लागि भदौ २४ गते मंगलबार (आज) एक दिनका लागि सम्पूर्ण उद्योग तथा व्यवसाय बन्द गरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं,’ विज्ञप्तीमा उल्लेख छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij